सरिता कठायत:डोटी जिल्लाको शिखर नगरपालिकाको सिताराम मावि बाट एसईईमा जिल्लाकै प्रथम भएका अर्जुन कठायतलाई नगरपालिकाले पढाइ खर्चका लागि एक लाख एक हजार दिने बताएको छ ।
नगरपालिकाको नामलाई उच्च स्थानमा पुर्याउन सफल भएकोले कठायतलाई पढाइ खर्च भनेर सो रकम दिएको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । उनले भने शिखर नगरपालिका र सिताराम माविको नाम जिल्लाकै नमुना बनाउन सफल कठायतलाई उनको पढाइ क्षेत्रमा सहज पुर्याउने हेतुले नगरपालिका परिवारले सल्लाह गरेर पढाई खर्च दिएको बलायर भने । आगामी दिनमा नगरपालिका भित्रका अन्य विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिका जिम्मेवार भएर अगाडि बढ्ने समेत बलायरले बताएका छन् । एसईईमा कठायतले जिल्लामै सबैभन्दा बढी ३.९ जिपिए ल्याएर प्रथम भएका थिए । नगरपालिका परिवारले उनको पढाइ क्षेत्रमा मनोबल बढाउनका लागि एक कार्यक्रमका बीच भव्य स्वागत पनि गरेको थियो । उनी जिल्लाकै प्रथम भएकाले राधाकृष्ण मावि गोपघाटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बलायरले रू २ हजार ५ सय पुरस्कार समेत दिएका थिए । कठायत एक किसानका छोरा हुन । उनको घर दिपायल सिलगढी नगरपालिका २ पुनेबाटा पर्छ । उनको पढाइ खर्चका लागि आयआर्जनको स्रोत भनेको तरकारी खेती रहेको छ । छोरालाई नगरपालिकाबाट सम्मान गर्दै गर्दा उनका बुवा भोज बहादुर कठायत भावुक बनेका थिए । आफूले तरकारी बेचेर पढाएको छोराले जिल्ला प्रथम हुँदा उनी खुसीले भावुक बनेका हुन् ।