
राज पार्की: दलित माथि अझै विभेद कायम रहेको सहभागीहरूले बताएका छन् । निर्वाचित प्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग दलित सशक्तीकरण सम्बन्धी अन्तरक्रियात्मक संम्वाद कार्यक्रममा मङ्गलवार दलित अगुवाहरूले समाजमा आफूहरू अझै पनि थिचोमिचोमा रहेका बताएका हुन् ।
स्थानीय स्तरमा मात्र नभएर कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्दा पनि दलित भनेर नराम्रो नजरले हेर्ने प्रवृत्ति अझै पनि डोटीमा कायमै रहेको रेखा बागचनले बताईन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले दलित समुदायका सवाल र मुद्दामा खासै चासो नदेखाएको महेश टेलरले बताए । सोचमा परिवर्तन आउन आवश्यक रहेको उनले बताए । दिपायल सिलगढी नगरपालिकामा गरिएको अन्तरक्रियात्मक संम्वाद कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष कुमार सीँ टेलरले अझै पनि नगरपालिकामा जातीय विभेद कायमै रहेकोले जातीय विभेद अन्त्य गर्न पहल गर्नुपर्ने बताए । आर्थिक, शिक्षा, स्वास्थ्य, राजनीतिमा दलित समुदाय पछाडि परेकोले नगरपालिकाको दलितहरूको विषयमा विशेष चिन्ता लिनु पर्ने बताए । दलितले पाउनु पर्ने सुविधा र कानुनले दिएका सुविधाहरूमा के पाएका छन् र के पाउनु पर्ने हो भन्ने कुरामा जोड दिन नगरपालिकालाई उनले आग्रह गरे।
आफू समानान्तरको भावना लिएर अगाडि बढी रहेकोले कसैले पनि विभेद गर्न नपाउने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि बाजि सीँ खड्का (विजय)ले बताए । दलित समुदायसँग सहकार्य र सहअस्तित्वको भावनाले अगाडि बढ्न नगर तयार रहेको बताए ।
नगरपालिकामा भएका दलित समुदाय समस्यामा परेकाले नगरपालिकाबाट न्याय पाउने र उनीहरूको समस्या समाधान तर्फ आफूले पनि पहल गर्ने जिल्ला समन्वय समिति डोटीका उप -प्रमुख स्मृति चुनारा विकले बताइन् ।
गाउँ टोल र समाजमा दलितका समस्या समाधान गर्न र छुवाछूत मुक्त गर्न संघ संस्था ,स्थानीय सरकारले प्रतिबद्धता जनाएर काम गरे परिवर्तन गर्न सकिने दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला अस्पताल डोटीका अध्यक्ष धन बहादुर नेपालीले नगरपालिकामा बजेट प्रस्तुत गर्दा दलितका सीमित अधिकार, जातिगत समूह, वर्गीय समूह, लक्षित समुदायलाई सेवा सुविधा दिने कुरामा विशेष चासो दिनु पर्ने बताए । उनले आफू जिल्ला अस्पताल डोटीको अध्यक्ष भई रहँदा पनि गैर दलितको हेर्ने दृष्टिकोण नराम्रो रहेको बताए ।
कार्यक्रममा दलितका वडा सदस्यले भनेको कुरा नसुन्ने, आफूहरूले ल्याएका समस्यालाई सम्बोधन नगर्ने जस्ता दुखेसो गरेका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा दलित महिला संघ (फेडो) डोटीको आयोजना तथा नगरको आर्थिक सहयोगमा गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरोकारवाला लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।