Sujang

कैलालीका स्थानीय तहले १० अर्ब ९७ करोडको बजेट ल्याए

ईश्वर साउँद,टीकापुर: कैलालीका सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गतेसम्म गाउँ तथा नगरसभा गरी स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नु पर्ने सम्बैधानिक व्यवस्था रहेको छ ।
सोहि अनुसार कैलालीका १३ ओटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको बताएका छन् । १३ ओटा स्थानीय तहले १० अर्ब, ९७ करोडको बजेट सार्वजनिक गरेका छन् ।
६ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका रहेको कैलालीमा सबै भन्दा बढी धनगढी उपमहानगरपालिकाले १ अर्ब ९३ करोड ८ लाखको बजेट ल्याएको छ । सबै भन्दा कम जोशीपुर गाउँपालिकाले ४४ करोड, ३५ लाख बजेट ल्याएको छ ।
६ ओटा नगरपालिका मध्ये गोदावरी नगरपालिकाले सबै भन्दा बढी १ अर्ब २२ करोड ९४ लाखको बजेट ल्याएको छ भने भजनी नगरपालिकाले ६४ करोड ८७ लाख बजेट ल्याएको छ । गौरीगंगाले ९८ करोड ७१ लाख, घोडाघोडीले ९७ करोड ४३ लाख, लम्कीचुहाले ९४ करोड ४२ लाख र टीकापुर नगरपालिकाले ८१ करोड २३ लाख बजेट ल्याएको छ ।
गाउँपालिकामा सबै भन्दा बढी वर्दगोरीया गाउँपालिकाले ७९ करोड ८६ लाख रुपैयाको बजेट ल्याएको छ । कैलारीले ६३ करोड ४८ लाख, जानकीले ६१ करोड ५ लाख, चुरेले ४९ करोड ८७ लाख र महोन्याल गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.