
राज पार्की, डोटी : शिखर नगरपालिकालाई मुक्त हलिया सञ्जालले ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । शुक्रबार विश्व शिक्षा सप्ताहको अन्तिम दिनको अवसरमा शिखर मुक्त हलिया सञ्जालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिखर शिक्षा प्राविधिक सहायकलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

निःशुल्क प्राविधिक तथा उच्च शिक्षामा मुक्त हलियाका बालबालिकालाई नेपाल सरकारले विशेष प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा बाँधुवा श्रमबाट मुक्त भएको १४ वर्ष बितिसक्दा पनि मुक्त हलियाका बालबालिकाहरू शिक्षा हासिल गर्नबाट वञ्चित रहेका कारण शिखर नगरपालिकालाई शिक्षामा सुधार गर्न ज्ञापन पत्र बुझाएको थियो ।
” मुक्त हलिया समुदायका बालबालिकाहरूको शिक्षा सम्बन्धी हक र अधिकार प्राथमिकतामा नपरेको हुँदा यस पालिकामा रहेका मुक्त हलियाका बालबालिकाहरूको शैक्षिक अवस्था विश्लेषण सहित तत्काल मुक्त हलियाका वास्तविक जनसङ्ख्या, लगत लिई मुक्त हलिया परिवारका बालबालिकाहरूको माग र सवाल सम्बोधन गराइयोस् भन्ने जोडदार माग गर्दछौँ ।”
सम विकास केन्द्र (इडिसि) नेपालको कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजनाको सहकार्यमा नगरपालिकालाई ६ बुँदे ज्ञापन पत्र बुझाएको इडिसि नेपालका कार्यक्रम अधिकृत शंकर विकले जानकारी दिए । मुक्त हलिया परिवारका बालबालिकाहरूको निःशुल्क प्राविधिक तथा उच्च शिक्षा अध्ययनको अनिवार्य व्यवस्था, सामुदायिक विद्यालयमा विभिन्न बहानामा विभिन्न शीर्षक सहित उठाउने शुल्क लिने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
त्यसै गरी विद्यार्थीलाई समावेशिताको आधारमा छात्रवृत्ति प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था, स्थानीय तहले आफ्नो ५ प्रतिशत शिक्षामा लगानी गर्न नीतिगत व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।