Sujang

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

कैलाली :चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म रु पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ अर्थात् कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सारले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२ लाख ७२ हजार आठ सय १३ रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।

भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारुले चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन मुस्किल रहेको बताउनुभयो । “चैतसम्म कूल राजस्वको ३१ प्रतिशत मात्रै सङ्कलन भएको छ । अब तीन महिनामा त्यस्तो कुनै चमत्कार नै भन्न सकिँदैन, नभए यस वर्ष लक्ष्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “अहिलेको आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा गिरावट आएको हो । दिनभर भन्सार सुनसान हुँदा राजस्व कसरी उठ्छ रु उहाँका अनुसार उठेको राजस्व पनि सबै आयातीत सामानबाट सङ्कलन भएको हो ।”

सत्ती भन्सारबाट निर्यात भने शून्य जस्तै भएको निमित्त प्रमुख थारु बताउनुहुन्छ । “भन्सारबाट आउने सबैभन्दा बढी भनेको हार्डवयरको सामान हो । त्यसपछि छिटफुट कपडालगायतका सामानको आयात हुन्छ”, थारुले भन्नुभयो, “त्यसबाहेकको सामान आयात निकै कम हुन्छ । तरकारीलगायतका वस्तुको आयातका लागि क्वारेन्टाइन छैन । त्यो भए राजस्व बढ्थ्यो की रु ।”

मूल भन्सार कायम भएपछि सत्ती भन्सार कार्यालयले एक वर्षमात्रै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७७÷७८ मा भन्सार कार्यालयले एक सय ११ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्ष भन्सार कार्यालयले रु १४ करोड २३ लाख ४८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु १५ करोड ८३ लाख सात हजार नौ सय ७३ राजस्व सङ्कलन गरेको थियो । त्यसभन्दा अन्य कुनै पनि वर्ष लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको थारु बताउनुहुन्छ ।

गत आवमा पनि भन्सारले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेन । भन्सारले गत वर्ष पनि रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्य लिएकामा रु १० करोड ६७ लाख ९३ हजार छ सय चार राजस्व सङ्कलन गर्न सकेको थियो । यो लक्ष्य सत्ती भन्सार कार्यालय स्थापनादेखिकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०७५÷७६ मा मूल भन्सारका रुपमा विकास भएको सत्ती भन्सार कार्यालयले त्यस वर्ष लक्ष्यको ६३ दशमलव २३ प्रतिशत अर्थात् रु पाँच करोड ६९ लाख ११ हजार छ सय ७३ राजस्व सङ्कलन भएको थियो । भन्सारलाई रु नौ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो ।-रासस

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.