
वैशाख १४ गते, दिपायल –डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो ।
‘जोडौँ एक नाता ,खोली महालक्ष्मी बैङ्कमा खाता’ भन्ने मुलनाराका साथ महालक्ष्मी विकास बैंक लिमिटेड पिपल्ला शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा दिपायलका प्रबन्धक भीम बहादुर रावतले जानकारी दिए ।
उनले भने ,‘बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ । वित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा छ।’