

विक्रम खड्का ,डोटी : डोटीमा हाेजियारी सिप विकास सम्बन्धी ४५ दिने तालिमको सुरु गरिएको छ।
मङ्गलवार दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर साउदले एक कार्यक्रमका बिच तालीमको उद्घाटन गरेकी हुन् ।
“सिप सिकाै स्वरोजगार वनाै,समृद्ध नेपालको विकास गराै भन्ने मूल मर्मलाई मध्यनजर गर्दै गरिबी निवारणका लागि लघु विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम दिसिपा – ८ लडागडामा सञ्चालन गरिएको छ।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा स्तर उन्नति तर्फको ४५ दिने हाेजियारी सिप विकाश तालिममा वडाका १८ जना महिला र किशोरी सहभागी रहने गरी तालिम सञ्चालन गरिएको जनाएको छ।
तालीमको उद्घाटन सत्रमा बोल्दै दिसिनपा उप-प्रमुख साउँदले सीप भनेको आत्मनिर्भर बनाउने बलियो आधार भएको बताइन् । आफ्नो घर आँगनमा आएको अवसरलाई भरपुर सीप सिक्न अनुरोध गरिन् ।
उनले भनिन् ,´यस्ता सीप विकासका तालीम नगरले निरन्तर गरी रहेको छ। यस्ता तालीमबाट सीप सिकेर व्यवसायी रूपमा अगाडी बढेर आर्थिक पाटोलाई बलियो बनाउनुहोस् ।व्यवसायी करणमा गाह्रो भए नगरले हातेमालो गर्न तयार छ।`
त्यस्तै कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका अन्तर्गत लघु उद्यम विकास कार्यक्रम शाखा अधिकृत राज बहादुर खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै शाखाको लक्ष्य भनेको गरिबिको रेखामुनि रहेका आम समुदायका व्यक्तिलाई सिप सिकाइ आर्थिक रूपमा अगाडि बढाउने बताए । तालिमको उद्देश्य अनुरूप सीप सिक्न सहभागी सबैलाई उनले जोड गरे ।
दिपायल सिलगढी नगरपालिका – ८ लडागडाका वडा अध्यक्ष दशरथ बलायर रहनु भएको कार्यक्रममा दिसिनपा – ५ का वडा अध्यक्ष गणेश भण्डारी , कार्यपालिका सदस्य पार्वती पार्कि,बिष्ना साउद,वडा सदस्य तिर्मल कुन्जेना,निमित्त वडा सचिव मान बहादुर कडायत,तालिका प्रशिक्षक लगायतका सहभागीहरूको उपस्थिति रहेको थियो ।
हाेजियारी सिप विकाश तालिम वैशाख १२ गते देखि जेठ महिनाको २५ गते सम्म दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ८ लडागडाकाे हलमा सञ्चालन हुने छ।

सहभागीहरूले यस अघिका तालिममा हाते हाेजियरी सिपद्वारा उनबाट हातले बुनेकाटोपी,सुइटर,स्काप,दोसल्ला लगायतका सिलाइ कटाइ सम्बन्धी सिप सिकेकाले उहाँहरूलाई स्तर उन्नति गराइ मेसिनबाट पनि विभिन्न सामाग्री बनाउन उक्त कार्यक्रमको सुरुवात गरिएको जनाइएको छ।
