Sujang

सुदूरका पहाडी जिल्लामा शैक्षिक सत्र सुरु नहुँदै पुगे पाठ्यपुस्तक

गणेश मौनी, डोटी :सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा यस वर्ष शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेका छन् ।
कक्षा १–५का पाठ्यपुस्तक आपूर्ति गर्ने जिम्मा प्राइभेट कम्पनीले लिएको छ भने कक्षा ६–१० पाठ्य पुस्तक आपूर्तिको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रको हो ।
कक्षा ६–१० का पाठ्यपुस्तक आपूर्तिको जिम्मा लिएको जनक शिक्षा सामाग्री केन्द्रले वैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य रहेको जनक शिक्षा सामाग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीका प्रमुख धुर्ब पन्तले बताए ।
जनक शिक्षा सामाग्री केन्द्रले यस वर्ष २०७९ साल चैत्र २६ गते देखि ६–१०को पाठ्य पुस्तक दार्चुला र बाजुरा जिल्ला बाट वितरण कार्य सुरु गरिसकेको छ । सुदूरका पहाडी जिल्ला दार्चुला, बझाङ, अछाम, बाजुरा, बैतडी जिल्लाहरूमा पनि आवश्यकता अनुसार पाठ्यपुस्तक वितरण गरिसकेको छ भने अन्य बाकी रहेका डोटी, डडेलधुरा, कैलाली कञ्चनपुरमा पनि वैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक वितरण गरिसक्ने समेत कार्यालय प्रमुख पन्तले बताए ।
सुदूरपश्चिम प्रदेशमा कक्षा ६–१० को लागि १८ लाख थान पाठ्यपुस्तक आवश्यक भएकोले सबै जिल्लालाई पुग्ने किसिमको सबै विषयवस्तु सहितको पाठ्यपुस्तक व्यवस्थापनमा रहेको समेत प्रमुख पन्तले बताए । उनले भने गत वर्ष विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थीले साहै हैरानी ब्यहोनु परेको थियो सोही मर्मलाई बुझेर हामीले यस वर्ष सुदूरका दुर्गम जिल्लाका बिकट बस्तीहरूमा समयमै पाठ्यपुस्तक पुर्‍याउन पहल गरेका छौ ।
बाजुराको कोल्टी, दार्चुलाको लिपुलेकमा समेत शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामाग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
सामुदायिक विद्यालयमा कक्षा १–५ का पाठ्यपुस्तकहरू आपूर्तिको जिम्मा प्राइभेट कम्पनीहरूले लिएको छ । प्राइभेट कम्पनीहरूले पनि विद्यालयले माग गरे अनुसार १–५ का पाठ्यपुस्तकहरू जिल्लाहरूमा  आइपुगेको दिपायल पिपल्लास्थित प्राची बुक्स एण्ड सप्लार्यसका सञ्चालक डिक बहादुर महराले बताउनु भयो । उनले भने कक्षा १–५ का पाठ्यपुस्तकहरू हामीले माग गरे अनुसारका सबै पुस्तकहरू जिल्लामा पुगिसकेका छन् विद्यालयमा पठाउने कार्य भइरहेको छ ।
डोटी जिल्लामा कक्षा ६–१० का लागि आवश्यक पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्रले केही दिन भित्र आवश्यक माग अनुसारका पाठ्यपुस्तक उपलब्ध गराउने जानकारी गराइसकेको सञ्चालक महराले बताए । गत वर्ष पुस मसान्त सम्म पनि केही पाठ्यपुस्तकहरू नपुगेको बताउँदै यस वर्ष बिद्यार्थिलाई पढाइमा सहजता हुने समेत महराले बताए ।
विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको ६ महिना, ८ महिना बितिसक्दा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो तर यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक आइपुग्दा बिद्यार्थिहरुको पठनपाठनमा सहजता हुने देखिएको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । ३ सय ८८ वटा सामुदायिक विद्यालय रहेको डोटीमा करिब ६० हजारको हाराहारीमा बिद्यार्थिहरु रहेको शिक्षा विकास समन्वय इकाई डोटीले जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.