Sujang

सहकारीले बचत गर्ने बानीको विकास गरेको छ : नगर प्रमुख बलायर 

प्रकाश बम,डोटी : सहकारीहरूले बचत गर्ने बानीको विकास गरेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताएका छन् ।
बिहीबार किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शिखर शाखाले आयोजना गरेको ‘केन्द्र प्रमुख गोष्ठी’मा बोल्दै नगर प्रमुख बलायरले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीलाई बचत गर्नुपर्ने कुराको ज्ञान कमी थियो । गाउँमा सहकारी संस्थाको स्थापना भएपछि अहिले सबैले बचत गरिरहेका छौँ। यसले हामीमा बचत गर्ने बानीको विकास भएको छ।’
उनले सहकारीबाट लिएको पैसा उद्देश्य अनुसार काम गर्न सदस्यहरूलाई आग्रह गरे। उनले भने, ‘कृषि गर्छु भनेर पैसा निकालेर छोराछोरीको बिहे गर्नमा खर्च नगर्नू होला। जे उद्देश्यले पैसा लिनुहुन्छ यसैमा खर्च गर्नुहोला।’
नगर भित्र सञ्चालनमा रहेको वित्तीय बैक तथा बहुउश्यीय सहकारी संस्थाका प्रमुखहरू सँग छलफल गरेको बताउँदै त्रृण लगायतका अन्य सेवामा सेवाग्राहीलाई सहुलियत गर्न अनुरोध गरेको बताए ।
पछिल्लो समय केही सहकारीहरुले पैसा संकलन गरेर उदेश्य अनुसार काम नगरेको सुन्नमा आएकोले सचेत रहन जोड दिए।
कार्यक्रममा बोल्दै शिखर नगरपालिका –६ का वडा अध्यक्ष दीर्घ बहादुर सिंहले आर्थिक क्रियाकलापमा महिलाको त्यति पहुँच नभएको बेलामा सहकारी खुले पछि पहुँच बढेको बताए ।
गाउँमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सहकारीले सहयोग गरेको बताउँदै गाउँका मानिसलाई जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सहकारीलाई उनले सुझाव दिए ।
सोही कार्यक्रममा बोल्दै सहकारी सदस्य हिरा विकले सहकारी संस्था खुलेदेखि बचतका लागि सजिलो भएको बताइन् ।
सहकारी संस्थाकी सदस्य विकले भनिन्, ‘सहकारी संस्थामा आबद्ध भएपछि हाम्रो जीवन नै फेरिएको छ। हामीले बचतको महत्त्वबारे मात्रै बुझेका छैनौँ। सहकारीमार्फत सामाजिक काम पनि गरिरहेका छौँ।’
दुर्गमको बैङ्क सहकारी नै भएकोले हामीलाई गाउँमा सहकारी खुलेदेखि निकै सहज भएको विकले बताइन् । केही सहकारी कारण राम्रो गर्ने सहकारीलाई विश्वास घट्दै गएकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा सहकारी संस्था र शाखाका बारेमा तालिम विभाग प्रमुख नारायण चौधरीले जानकारी गराएका थिए ।
गोष्ठीका अवसरमा सहकारीले किसान सहकारीमा आबद्ध उत्कृष्ट सदस्यमा धौली देवी साउँद,राधिका देवी महरा,विष्ना देवी बोगटी र प्रतिभा बोहरा भाटलाई प्रमाण पत्र तथा सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट केन्द्र प्रमुखमा तुल्छी कुमारी खड्का बोगटी, नन्दा कुमारी विष्ट बलायर अनिता कुमारी चन्द मल्ल सम्मान गरेको छ ।
उत्कृष्ट केन्द्र अन्तर्गत कमला चन्द, लक्ष्मी खत्री बलायर, कविता कुमारी साउँदलाई सम्मान तथा प्रमाण पत्र वितरण गरेको हो ।
त्यस्तै किसान सहकारीमा आबद्ध भई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सदस्य डम्बरा देवी बोगटी,लक्ष्मी देवी महरा र मनीषा लुहारलाई सम्मान गरेको छ ।
सहकारीले किसान कोष शिक्षा पदकमा राजेश बहादुर कार्की,प्रतिभा फुलारा र प्रीति शाहीलाई  वितरण गरेको छ ।
त्यस्तै सहकारीमा आबद्ध उत्कृष्ट सदस्यलाई एटिएम कार्ड समेत वितरण गरिएको थियो ।
वार्षिक रूपमा केन्द्रका सदस्यहरूले गरेका कामहरू, संस्थाले दिएका सेवाहरूको बारेमा वृहत् छलफल गर्ने उद्देश्यले गोष्ठी कार्यक्रम गरिएको तालिम विभाग प्रमुख नारायण चौधरीले बताए ।
सहकारीले नाफा कमाउने नभई स्थानीय महिलाहरूको आर्थिक स्तर उकास्ने मुख्य उद्देश्य लिएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितका सदस्य शिव स्वाँरको बताए ।
कृषिसम्बन्धी मात्रै होइन अन्य तालिमहरू पनि दिन सहकारी तयार रहेको उनले बताए । सहकारीले आगामी दिनमा पनि नयाँ–नयाँ कामहरू गर्दै जाने समेत बताए ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितका सदस्य स्वाँरको सभापतित्वमा उक्त गोष्ठी सम्पन्न भएको हो।
शिखर शाखामा १ हजार ३९ जना सेयर सदस्य सङ्ख्या रहेको शाखा प्रमुख प्रवीण चौधरीले जानकारी दिए ।
जिल्लाको शिखर ,जोरायल र सिलगढीमा सहकारीको शाखा रहेको चौधरीले बताए ।
यो सहकारी संस्था २०५२ साल कार्तिक २७ गते २७ जना सेयर सदस्यबाट सुरु गरिएको थियो। सुरुमा ६६ हजार छ सय पुँजीबाट सुरु भएको संस्थाले आर्थिक वर्ष ०७९÷०८०मा संस्थाको ४ अर्ब ७६ करोड बराबरको वासलात रहेको संस्थाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ४२ शाखा कार्यालयमार्फत ७६ हजारभन्दा बढी परिवारलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ।
Salmuni
Leave A Reply

Your email address will not be published.