

डोटी :डोटीको के. आई.सिंह गाउँपालिका-१ डुम्राकाेट स्थित डुम्राकाेट आधारभूत विद्यालयमा अध्ययनरत १ सय १५ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ।
आइतबार एक कार्यक्रमको आयोजना गरी वीर-दुर्गा-प्रश्रय स्मृति अक्षयकोषबाट विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो।
भूतपूर्व गृह सचिव स्व. वीर बहादुर शाही, दुर्गादेवी शाही तथा प्रश्रय शाहीको सम्झनामा स्थापना गरिएको वीर-दुर्गा-प्रश्रय स्मृति अक्षयकोषबाट झोला वितरण गरिएको नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले बताए ।
मातृभूमिमा सधैँ अमर बनाईरहनका लागि मातापिता र छोराको नाममा स्थापना गरेको अक्षयकोषको कार्य सह्रानीय रहेको शाहीले बताए ।
विद्यार्थीको शैक्षिक उपलब्धिमा सहयोग पुगोस् भन्दै कोषबाट झोला वितरण गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका शाहीले भने,´गाउँमा अहिले पनि विद्यार्थीहरू हातमा झोला बोकी रहेका हुन्छन् । दैनिक रूपमा पठनपाठन हुने शैक्षिक सामग्री झोलामा हालेर जाँदा सुरक्षित पनि हुन्छ । विद्यार्थीहरूलाई प्रोत्साहन पनि हुन्छ । त्यो कुरालाई मध्यनजर गरेर वितरण गरिएको हो।`
डुम्राकाेट आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम रावतले वीर-दुर्गा-प्रश्रय स्मृति अक्षयकोष स्थापना गरेर सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यालय र विद्यार्थी दुबैलाई सकरात्मक प्रभाव पर्ने बताए ।