Sujang

प्रहरी र प्रशासन कार्यालय अगाडीकै सडक निमार्ण अधुरो, तेस्रो पटक थपिएको म्यादसमेत गुज्रियो

गणेश मौनी,सिलगढी :डोटीको जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको गेटसँगै जोडिएको सडक निमार्ण कार्य गत आर्थिक वर्षमा सम्पन्न हुन नसक्दा अधुरै रहेको छ । सिलगढीको मुख्य बजार इन्द्रचोकदेखि नाचन्थलीसम्मको सडक तथा नाली निमार्ण कार्य गर्न सघन शहरी भवन निर्माण आयोजना राजपुर र के एस कस्टक्सन प्रा.ली. धनगढी बिच २०७७ साल फागुन २६ गते २ करोड ९४ लाख ८९ हजार ५ सय ५२ रुपैयाँमा सम्झौता भएको थियो । सोही योजनाको प्याकेज भित्र राखी निमार्ण सुरु गरेको जिल्ला प्रहरी कार्यालयको गेटदेखि शैलेश्वरी मन्दिरको गेटसम्मको पीच गर्ने कार्य सम्पन्न हुन नसक्दा सडक खाल्डा खुल्डी र धुलाम्मे भएको हो ।

निमार्ण कम्पनी र कार्यालय बिचको सम्झौता र कार्य यस्तो छ

सिलगढीको मुख्य बजार इन्द्रचोक देखि नाचन्थली सम्मको सडक तथा नाली निमार्ण कार्य गर्न सघन शहरी भवन निमार्ण आयोजना र के एस कस्टक्सन प्रा.ली. बिच २०७७ साल फागुन २६ गते सम्झौता भएको थियो । सोही अनुरूप निमार्ण कम्पनीले काम अगाडी बढाएको थियो । सम्झौता अनुसार निमार्ण कम्पनीले २०७८ साल भाद्र ९ गते सम्म काम सम्पन्न गरिसक्नु पर्ने थियो । तर निमार्ण कम्पनीले सम्झौता समयावधि भित्र काम सम्पन्न गर्न सकेन । कार्य सम्पन्न गर्नको लागि निमार्ण कम्पनीलाई २०७८ साल चैत्र ३० गते सम्मका लागि म्याद थप गरिएको थियो । तर निमार्ण कम्पनीले उक्त समययाबधी भित्र पनि निमार्ण कार्य सम्पन्न गर्न सकेन ।

कार्यालयले स्टिमेट र सम्झौता अनुसारको कार्य सम्पन्न गर्न निमार्ण कम्पनीलाई फेरी तेस्रो पटक २०७९ साल असार ३० गते सम्मका लागि म्याद थप गरेको देखिन्छ । सो समयावधिमा निमार्ण कम्पनीले सम्झौता अनुसारको सिलगढीको मुख्य बजार इन्द्रचोकदेखि नाचन्थली सम्मको सडक तथा नाली निमार्ण कार्यको लागि गरिएको स्टेमेट अनुसारको कामको क्वान्टीटी पुरा भई ५४ लाख रुपैयाँ बचेको कार्यालयले जनाएको छ ।

निमार्ण कम्पनीलाई म्याद थप गरेको सोही समयावधि भित्र पुरानै योजना र सम्झौतालाई आधार मान्दै बचेको पैसालाई खेर जान नदिन पुरानो योजनाको प्याकेजभित्र रहनेगरि जिल्ला प्रहरी कार्यालयको गेट देखी शैलेश्वरी मन्दिरको गेट सम्मको बाटोलाई पिच गर्न नयाँ स्टेमेट तयार गरी कार्य सुरुवात गरेको देखिन्छ । तर निमार्ण कम्पनीले उक्त काम तोकिए समयावधि भित्र सम्पन्न गर्न नसक्दा काम अधुरै रहेको छ । निमार्ण कम्पनीलाई तेस्रो पटक म्याद थप गरी समयावधि सकिएको समय पनि ७ महिना बिती सक्यो । अहिले सम्म नत निमार्ण कम्पनीको म्याद थप नै भएको छ नत निमार्ण कार्य सुचारु नै भएको छ ।

स्टेमेट अनुसार काम गरेको कार्यालयको दाबी

सघन शहरी भवन निमार्ण आयोजना कार्यालय राजपुरले निमार्ण कम्पनीलाई स्टेमेट अनुसार काम गराएको दाबी गरेको छ । सिलगढीको मुख्य बजार इन्द्रचोकदेखि नाचन्थलीसम्मको सडक तथा नाली निमार्ण कार्य स्टेमेट अनुसारको क्वान्टीटी पुर्‍याई कार्य सम्पन्न पश्चात् आयोजनाबाट बचेको रकम आयोजना अन्तर्गत स्थानीय सरकार र प्रशासनसँगको परामर्श र सामूहिक निर्णय अनुसार जिल्ला प्रहरी कार्यालयको गेट देखि शैलेश्वरी मन्दिरको गेट सम्म पिच गर्ने कार्य गर्नका लागि शहरी विकास मन्त्रालयमा पठाई स्वीकृति पश्चात् निमार्ण कार्य सुरु गरेको सघन शहरी भवन निमार्ण आयोजना राजपुरका इन्जिनियर सञ्जय खड्काले बताएका छन् । इन्जिनियर खड्काका अनुसार पुरानो ठेकेदार सँगको ठेक्का नतोडी निरन्तरता हुने गरी मन्त्रालयको स्वीकृति अनुसार कार्य अगाडी बढाएको भएपनी काम समय सीमा भित्र सम्पन्न हुन नसकेको स्वीकार गरे ।

सघन शहरी भवन निमार्ण आयोजना राजपुर र निमार्ण कम्पनी सँग भएको पहिलो सम्झौता अनुसार इन्द्रचोकदेखि नाचन्थली सम्मको सडक तथा नाली निमार्ण भनेर नामकरण गरेको थियो । तर नामकरण अनुसार निमार्ण कम्पनीले नाचन्थलीदेखी टुडीखेल छेउसम्म मात्र निमार्ण कार्य गरेको छ । टुडीखेलभन्दा तल कामै सुरुवात गरेको छैन । सोही विषयमा इन्जिनियर खड्कालाई प्रश्न गर्दा स्टेमेटमा भएको क्वान्टीटी अनुसारको कार्य पुरा भएको त्यसैले तल सम्म हुन नसकेको बताए ।

जेठमा काम हुँदा रोकियो, पुन निमार्णको लागि पहल भइरहेको छ : प्रजिअ श्रेष्ठ

जिल्ला प्रहरी कार्यालयको गेटदेखि शैलेश्वरी मन्दिर सम्मको अधुरो रहेको कामलाई पुरा गर्नको लागि सधन शहरी भवन निमार्ण आयोजना दिपायल र शहरी विभाग, मन्त्रालयसँग समन्वय भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन् गत आर्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने काम हो, काम ढिलो सुचारु गर्दा सम्पन्न हुन सकेन ।

निमार्ण कम्पनीले जेठमा काम गरिरहेको अर्कोतिर पानी परिरहेकोले काममा गुणस्तर नआउने भएकोले तत्कालको समयमा काम गर्न रोकेको समेत प्रजिअ श्रेष्ठले बताइन् । अधुरो रहेको निमार्ण कार्य सम्पन्न गर्न पहल भइरहेको समेत बताइन् ।

कार्यालयले भने अनुसार काम गरेका हौ : निमार्ण कम्पनी

सघन शहरी भवन निमार्ण आयोजना दिपायल सँगको सम्झौता र स्टेमेट अनुसार काम गरेको के एस कस्टक्सन प्रा.ली.का इन्जिनियर वसन्त पालले बताए । सिलगढीको मुख्य बजार इन्द्रचोक देखि नाचन्थली सम्मको सडक तथा नाली निमार्ण कार्य गर्न कार्यालयसँग २०७७ साल फागुन २६ सम्झौता भई कार्य सुचारु भएको बताए । उनले भने कार्यालयले भने अनुसार हामीले कार्य गरेका हौ । स्टेमेटमा राखेको क्वान्टीटी अनुसार हामीले काम गर्ने हो । स्टेमेट अनुसार काम गर्दा काम नाचन्थली देखि टुडीखेल सम्म मात्र काम भएको बताए । कार्यालयले जानकारी गराए अनुसार सो योजनाबाट ५४ लाख रुपैयाँ बाकी रहन गई त्यही योजनाभित्रको प्याकेजको रूपमा जिल्ला प्रहरी कार्यालय गेट देखी शैलेश्वरी गेट सम्म पीचको कार्य सुरुवात गरिएको समेत इन्जिनियर पालले बताए । तत्कालको समयमा काम ढिलो सुरु भयो, मौसमले पनि साथ दिएन काम पुरा गर्न नसकेको स्वीकार गरे । निमार्ण कम्पनीले जिल्ला प्रहरी कार्यालय गेट देखी शैलेश्वरी मन्दिर गेट सम्म निमार्ण सुरु गरेको काम पूर्ण रूपमा सम्पन्न गर्न नसक्दा निमार्ण कम्पनीले पैसा समेत नपाएको बताए ।

निमार्ण कार्य सम्पन्न नगरी बिचबाटै योजना अन्तै मोडिएको स्थानीयको आरोप

सघन शहरी भवन निमार्ण आयोजना र के एस कस्टक्सन प्रा.ली.बिच २०७७ साल फागुन २६ गते सम्झौता भई सुचारु गरेको सिलगढीको मुख्य बजार इन्द्रचोक देखि नाचन्थली सम्मको सडक तथा नाली निमार्णकार्य पूर्ण रूपमा सम्पन्न नगरी योजना बिचबाटै अन्तै मोडेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीय बासी देवेन्द्र गुरुङले भने प्रस्तावित योजना अनुसार इन्द्रचोक देखि नाचन्थली सम्म काम सम्पन्न हुनुपर्ने हो । तर नाचन्थली देखि टुडीखेलसम्म मात्र काम सम्पन्न गरी टुडीखेल भन्दा तल कुनै काम गरेन । उल्टै निमार्ण कार्य सम्पन्न भई पैसा बचेको भन्दै जिल्ला प्रहरी कार्यालय गेट देखि शैलेश्वरी मन्दिर गेटसम्मको नयाँ कार्य सुरुवात गरेको आरोप लगाए । उनले भने निमार्ण कम्पनीले टुडीखेल भन्दा तल काम सुरुवात गरेन हामीलाई सडक बिस्तार, नाली निमार्ण र पिच हुन्छ भनियो तर काम सुरुवात गरेन यताको पैसा बच्यो भन्दै अर्कै तिर सुरुवात गरियो तर त्यहाँ पनि निमार्ण कार्य पुरा नभएको बताए ।

सघन शहरी भवन निमार्ण आयोजनाले दिपायल सिलगढी नगरपालिकालाई सिलगढीको मुख्य बजार इन्द्रचोक देखि नाचन्थली सम्मको सडक तथा नाली निमार्ण कार्य सुरुवात गर्ने भन्दै बजार क्षेत्रको सडक पेटीहरू, टहराहरू हटाई सडक चौडा गर्न सहयोग मागेको थियो । सोही अनुरूप नगरपालिकाले सार्वजनिक रूपमा सूचना जारी गर्दै बजार क्षेत्र चौडा गर्ने कार्य सुरुवात गरी बजार क्षेत्रमा अधिकांश स्थानीयवासीले घर, सडक पेटीहरू र टहराहरू हटाएका थिए । तर निमार्ण कार्य नाचन्थली देखि टुडीखेल छेउ सम्म मात्र सम्पन्न गरेको भन्दै

स्थानीयले कार्यालय र निमार्ण कम्पनीमाथि सार्वजनिक कार्यक्रममा प्रश्न गर्दै आई रहेका छन् ।

स्थानीय बासीबाट सडक पेटी भत्काउन लगाई काम नगरेको भन्दै गुनासो आएपछि नगरपालिकाले आफ्नो लगानीमा टुडीखेल भन्दा तल केही स्थानमा सामान्य वाल र रेलिङको काम गरेको दिपायल सिलगढी नगरपालिकाका इन्जिनियर शिव माझीले बताए । उनले भने सघन शहरी भवन निमार्ण आयोजना कार्यालयले इन्द्रचोक देखि नाचन्थली सम्म सडक पेटी र टहरा हटाउन सहयोग गरिदिनु पर्‍यो भनेर समन्वय गरेको थियो  सोही अनुरूप आफूहरुले सार्वजनिक सूचना जारी गर्दै सडक चौडा गर्न लगाएको बताए । टुडीखेलभन्दा तल किन निमार्ण हुन सकेन भन्ने विषयमा नगरपालिकालाई  जानकारी नभएको बताए ।

अधुरो निमार्ण कार्य सम्पन्न हुनेमा झिनो आस

जिल्ला प्रहरी कार्यालयको गेटदेखि शैलेश्वरी मन्दिरको गेट सम्मको अधुरो रहेको निमार्ण काम चालु आर्थिक वर्षभित्र सम्पन्न हुने शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले बताए । थप बजेटको व्यवस्था नभई कसरी निमार्ण कार्य सम्पन्न हुन्छ भन्ने प्रश्नको जवाफमा प्रवक्ताले भने निमार्ण काम सम्पन्न गर्न बाकी रहेका योजनाहरूको सन्दर्भमा थप बजेटको व्यवस्था भइसकेको त छैन थप बजेटको व्यवस्थापन गर्न प्रक्रिया लामो छ कार्यक्रम तयार गरेर अर्थ मन्त्रालयबाट स्वीकृति भई बजेटको व्यवस्था हुनुपर्छ तर पनि त्यहाँको सडक समस्यालाई मध्यनजर गर्दै कतै बाट व्यवस्था गरेर भएपनी यसै आर्थिक वर्ष भित्र अधुरो कामलाई सम्पन्न गर्छौ ।

निमार्णकार्य पुरा हुन नसकेका कामहरू सत प्रतिशत पुरा हुन्छन् भन्ने आधारहरू त त्यस्ता केही देखिदैनन । सघन शहरी आयोजना दिपायलले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका कार्यक्षेत्रका विभिन्न जिल्लाहरूमा काम पुरा हुन नसकी अधुरा रहेका ३२,३३ वटा योजनाहरूको रकम थपका लागि मन्त्रालयमा पत्राचार गरिसकेकोले बजेट थप भएर आएपछि मात्र अधुरा निमार्ण काम पुरा हुन सक्ने जानकारी दिएको छ ।  । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि अधुरा कामहरूलाई पुरा गर्न मन्त्रालयले थप बजेर व्यवस्थापन गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।

Salmuni
Leave A Reply

Your email address will not be published.