Sujang

दिसिनपाको १२ औं नगर सभा सम्पन्न, पहिलो प्राथमिकतामा `बसपार्क´

डोटी :दिपायल सिलगढी नगरपालिकाले हिउँदे अधिवेशनबाट एउटा मात्रै योजना पारित गरेको छ । आइतबार सम्पन्न १२औं नगर सभा एवं अधिवेशनबाट नगर पालिकाले बसपार्क निर्माणका लागि जमिन खरिद गर्ने योजना पारित गरेको हो ।

योजना पारित गर्नका लागि नगरपालिकासँग ३ करोड ६२ लाख रकम मौजात रहेको थियो । जुन रकमबाट नगरपालिकाले विभिन्न योजनाहरुमा बजेट विनियोजन गर्न सक्थ्यो । तर, नगरपालिकाले वषपार्क निर्माणका लागि पाँच करोड पर्ने जमिन खरिद गर्ने योजनासहित वजेट पास गरेको हो ।

नगरपालिका भित्र तत्काल बसपार्कको आवश्यकता रहेकाले प्राथमिकताका साथ वजेट विनियोजन गरिएको नगर प्रमुख बाजीसिंह खड्का (विजय)ले बताए । उनले भने ,´हाम्रो नगरपालिका जिल्ला भरकै केन्द्र हो । यस जिल्ला भएर धेरै जिल्लाका यात्रुहरु आवत जावत गर्ने गर्दछन् । नगरपालिका भित्र व्यवस्थित वसपार्क अनिवार्य पनि हो । बसपार्क व्यवस्थित नहुँदा बजारमा पार्किङ्गको पनि समस्या रहेको छ । तत्काल यसको समाधान गर्नु पर्ने देखिए पछि यस वर्षको वजेटमा बसपार्क मात्रै अटाएका हौं।´

नगरपालिकाले हरेक वर्ष यसै गरि नगर गौरवका योजनाहरु अघि सार्ने नगर प्रमुख खड्काले बताए । योजनाहरु टुक्र्याएर बनाउँदा प्रगति पनि नदेखिने, भने जस्तो काम पनि नहुने भएकाले पनि प्रत्यक वर्ष देखिने खालका ठुला योजनाहरु अघि सारिने उहाँको भनाइ छ ।

जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिका भित्र व्यवस्थित बसपार्क नहुँदा गाडी व्यवस्थापनमा समस्या हुने गरेको थियो । जिल्लामा भएका दुईवटा स्याना बसपार्क व्यवस्थित गर्न र सञ्चालनमा ल्याउन निकै समस्या भइरहेको वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए । जिल्लामा सबै भन्दा ठुलो र व्यवस्थित बसपार्क बनेपछि यात्रु, सवारी धनी र स्थानीयहरुलाई सहज हुने उनले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.