डोटी:डोटीको आदर्श गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि बालबालिका र अभिभावकहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ।
बिहीबार गाउँपालिकाको वडा नम्बर -७ मा बालविवाह न्यूनीकरणका लागि बालबालिका र अभिभावकहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो।
पछिल्लो समयमा परिवारको करकापमा भन्दा पनि आफूखुसी प्रेम बालविवाह गर्नेहरूको सङ्ख्या बढी रहेकोले सोही उमेर समूहका विद्यार्थीमा जनचेतना ल्याउन सकेमा बाल विवाहका घटनाका न्यूनीकरण ल्याउन सकिन्छ भन्ने हेतुले कार्यक्रम गरिएको अध्यक्ष गणेश खड्काले बताए ।
उनले भने,´कम उमेरमा बिबाह गर्नाले पढाइमा बाधा हुन्छ ।सन्तानमा वृद्धि,शारीरिक अवस्था कमजोर जस्ता समस्या आउने गर्छन् । जनचेतना फैलाउन आवश्यक छ।`
माध्यमिक तहका अध्ययनरत बालबालिका बालविवाह हुने उमेर समूहका हुने हुँदा उनीहरूमा नै बालविवाहले पर्ने असरको विषयमा जानकारी गराउन सके बाल विवाहका घटनामा न्यूनीकरण ल्याउन सकिने उपाध्यक्ष लक्ष्मी धामी रोकायले बताइन् ।
अभिमुखीकरण कार्यक्रममा बाल विवाहले पार्ने असर, बालविवाह गरे वा गराएमा हुनसक्ने कानुनी सजाय र बाल विवाह न्यूनीकरणमा विद्यार्थी, अभिभावक र विद्यालयको भूमिकाको विषयमा जानकारी गराइएको उपाध्यक्ष रोकायले बताइन् ।
अन्य वडामा पनि बालबिबाह न्यूनीकरण सम्बन्धि कार्यक्रम गरिने उपाध्यक्ष रोकायले बताइन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष,वडाअध्यक्ष ,स्वास्थ्यकर्मी,अभिभावक र बालबालिकाको उपस्थिति रहेको थियो ।