

पौष १३,डोटी -दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खड्का ‘विजय’ले विद्यालयलाई आर्थिक र भौतिक संरचनाको अभाव हुन नदिने बताएका छन् ।
मङ्गलवार सुनादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन् ।
उनले भने ,´नगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विशेष पहल हुनेछ । नगरले भौतिक तथा गुणस्तरीय शिक्षाकालागि विभिन्न कार्यक्रम गरिरहेका छौँ । आगामी दिनमा शिक्षाको क्षेत्रमा विशेष कार्यक्रम ल्याइने छ।´
“गुणस्तरीय शिक्षा आजकाेे आवश्यकता, शैक्षिक गुणस्तर विकासमा हामी सबैको प्रतिबद्धता ” भन्ने मूल नाराका साथ विद्यालयको आयोजना र सामुदायिक विकास केन्द्रको आर्थिक सहयोगमा ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती बुढा साउँद रहनु भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य राम बहादुर खड्का , वडा अध्यक्ष दशरथ बलायर,वडा सदस्य हरू, नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीराज ओझा लगायत अभिभावक ,समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनितक दलका प्रतिनिधि,शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
