भक्तराज उपाध्याय -भूकम्प प्रभावित पुर्वीचौकी गाउँपालिका दुई सय जना विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
सोमबार भूकम्प प्रभावित परिवारहरूलाई लुथरन विश्व फेडरेशन नेपालको आर्थिक सहयोगमा उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चले अति विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरेको हो
पुर्वीचौकी गाउँपालिका वडा नं. १, खिरसैनमा ३५, वडा नं. २- बगलेकमा ४१, वडा नं.३ गैरा गाउँमा ५०, वडा नं. ४, सानागाउँमा ३३ र वडा नं. ५, काडामाण्डौंमा ४१ गरी दुई सय दलित परिवारलाई न्यानो कपडा वितरण गरेको जनाएको छ ।
चिसोको मौसम सुरु भएसँगै चिसोबाट बच्नका लागि २ वटा उनको ब्लाङकेट, ४ वटा उनको टोपी, २ वटा उनको सल, १.५ मिटर लामो तथा १.८३ मिटर चौडा कार्पेट म्याट वितरण गरिएको हो ।
तीन लाख चौपन्न हजार एक सय ९९ रुपैयाँ बराबरको २०० थान कार्पेट, ६ लाख चौरासी हजार सात सय असि बराबरको ४ सय थान ब्लाङकेट, ८ सय थान उनको टोपी र चार सय थान उनको सल गरी दश लाख अठतीस हजार नौ सय उनासी बराबरको न्यानो कपडा वितरण गरेको संस्थाका लेखा तथा प्रशासन अधिकृत धना थापाले जानकारी दिए ।
वडा कार्यालयसँग समन्वय गरेर लाभान्वित घरको विवरण तयार गरी सामाग्री हस्तान्तरण गरिएको उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च, डोटीका अध्यक्ष टिका सीँ नेपालीले बताए ।
संस्थाले दातृ निकायसँग पहल गरी चिसो सुरु हुनै लाग्दा न्यानो कपडा वितरण गर्न सफल भएको, प्रतिनिधि सभा सदस्य निर्वाचनको आचार संहिताका कारण पनि केही ढिलाइ भएको संस्था उपाध्यक्ष विस्ना देवी सिंहले बताइन् ।
आगामी दिनमा थप २५० थान सरसफाइ सामाग्री, २० जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री, ७५ वटा अस्थायी चर्पी र ७५ वटा अस्थायी टहरा बनाउन सहयोग गर्ने योजना रहेको उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च, डोटीका सचिव डम्बर सीँ डौडीले बताए ।
पुर्वीचौकी गाउँपालिका वडा नं. ५, काडामाण्डौंमा ६ जना गर्भवती महिला र १४ जना दूध चुसाइरहेकी महिलालाई डिगनिटि किट वितरण गरिएको यु.एस.एस.वि.एम. का कोषाध्यक्ष जयचन्द्र बहादुर खड्काले जानकारी दिए।
डिगनिटि किटमा १ पिस कटन कपडा, २ पिस महिलाको कट्टु, १ पिस गम्छा, ३ वटा लुगा धुने साबुन, १ वटा काइँयो, १ वटा नेलकटर, ५ पिस ब्रस, २ पिस कोलगेट, ३ पिस नुहाउने साबुन, १ वटा कटन झोला रहेका थिए ।
गत कार्तिक २३ गते खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाको आश्रम नजिक केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो ।
जसले गर्दा पुर्बिचौकी गाउँपालिकाका धेरै स्थानीय घरविहीन बनेका छन् । भूकम्पमा परी गैरा गाउँका ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।