

डोटी -७ औं एसपिए कपल्लेकी शिल्ड अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आदर्श गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा दिसिनपालाई पाखा लगाउँदै आदर्शले जित हात पारेको हो । आदर्शले ३–० ले खेल जित हात पारेको हो । आदर्शले दिसिनपालाई हराउँदै फाइनलमा पुगेको थियो ।
उपाधि जितेसंगै आदर्शले १ लाख २५ हजार नगद र ट्रफी हात पारेको छ । यस्तै दिपायल सिलगढी नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । उसले नगद ५१ हजार सहित ट्रफी हात पारेको छ ।
यस्तै प्रतियोगितामा शिखर नगरपालिका तेश्रो भएको छ । उसले नगद २१ हजार तथा ट्रफी हात पारेको छ ।
यस्तै भलिबल खेलमा बेष्ट स्पाइकर मनोज शाहु, बेस्ट डिफेन्सर उपेन्द्र मल्ल , बेस्ट लिफ्टर जनक खड्का , बेस्ट बलोकर कृष्ण ब.बोगटीलाई नगद दुईहजार पाँचसय प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै खेलमा अलराण्ड पुजन सिंहलाई नगद पाँचहजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा डोटीका ९ वटा स्थानीय तहका टीम सहित आयोजक टिम गरेर १० वटा टीम सहभागी थिए ।
सहभागी सम्पूर्ण टीमलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले खेलकुद क्षेत्रको विकासका लागि शिखर सरकार प्रतिबद्ध रहेको बताए । खेल खेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
खेलकुदले पालिका, जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पहिचान दिलाउने र युवाहरुलाई सही बाटोमा डोर्याउने भएकाले पनि खेलकुदमा नगर सरकार लगानी गर्न तयार रहेको बताए ।
“खेलसँग युवाहरुको ऊर्जावान समय जोडिएको हुन्छ,”उनले भने,”यो समय युवाहरुले सदुपयोग गर्न सक्नु पर्छ, स्वास्थ्यलाई सन्तुलित राख्ने बेला पनि यही हो । युवा देशका खम्बा पनि हुन् र भविष्य पनि हुन् । हामी युवाहरुको शक्ति प्रयोग गर्नुका साथै युवाहरुलाई सही बाटोमा लगाउन चाहन्छौं । तसर्थ खेल, खेलाडी हाम्रो प्राथमिकतामा छ ।”
नगरपालिकाले खेलाडीहरूलाई पालिका, जिल्ला देखि राष्ट्रिय स्तर सम्मका खेलकुदमा सहभागिता गराउन सहयोग गर्दै आएको नगर प्रमुख बलयरले बताए । नगरका ११ वटै वडाहरूमा खेल मैदान निर्माण गर्ने नगरको योजना रहेको बताउँदै उनले नगर स्तरीय खेल मैदान निर्माण भइरहेको बताए । एक वडा, एक खेल मैदान निर्माणका लागि नगर सरकार प्रतिबद्ध रहेको छ ।,”उनले भने,” त्यसका लागि सबै तहका सरकार र सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्छौं । सबै वडामा खेलमैदान निर्माण गर्न र कपल्लेकीको खेलमैदान सुधार गर्न हामी प्रतिबद्ध छौं ।”
२८ गते देखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो ।
शिखर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं ७ औं एसपिए कपल्लेकी शिल्ड प्रतयोगिताका संयोजक दीपक बोगटीको सभापतित्वमा उद्घाटन एवं समापन भएको कार्यक्रमको उद्घाटन एवं समापन नगर प्रमुख बालयरले गरेका थिए । शिक्षक शेर बहादुर कठायतले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, भलिबल संघका केन्द्रीय सदस्य एवं खेलाडी र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।