Sujang

बैतडीका ५ पालिकाले बालविवाह अन्त्यका लागि रणनीति बनाए

बैतडी –बैतडीका ५ ओटा पालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले यस अघि नै बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएका थिए भने दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाले यो बर्ष रणनैतिक योजना बनाएका हुन् ।

पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाले यो बर्ष बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएर बालविवाह न्यूनीकरण गर्ने प्रयास गरेका छन् । बालविवाह अन्त्यका लागि बनेको रणनैतिक योजना सार्वजनिक गर्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले घरबाटै बालविवाह अन्त्यका लागि पहल गर्नुपर्ने बताइन् । सरकारले सन् २०३० भित्र बालविवाहलाई शून्यमा झार्ने लक्ष्य लिएकाले सोही अनुसार नगरपालिकाले रणनैतिक योजना बनाएको उनले बताइन् ।

बालविवाह अन्त्यका लागि रणनीति बनाएको सिगास गाउँपालिकाले वडा तहबाटै तथ्यांक संकलन गरेर बालविवाह अन्त्यका लागि पहल गर्ने बताएको छ । वडाबाटै तथ्यांक संकलन गरेर बालविवाह न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने ‘बालविवाह एक समस्याको रुपमा देखा परेको छ । यसले अन्य क्षेत्रलाई पनि प्रभाव पारेकाले त्यसलाई रोक्नका लागि हामीले पहल गर्छौं ।’
यता बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाएको पाटन नगरपालिकाले किशोरकिशोरीहरुलाई सक्षम बनाउने खालका कार्यक्रम अघि सार्ने बताएको छ ।

बालविवाह अन्त्यका लागि बनेको रणनीतिक अनुसार कार्यक्रम कार्यान्वयनमा ल्याउने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । उनले भने ‘बालविवाह अन्त्यका लागि समाजका सबै वर्ग लाग्नुपर्ने देखिन्छ । यसका लागि हामी सबैसंग सहकार्य गरेर अगाडि बढ्छौं ।’

सरकारले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएकाले सरकारको लक्ष्य परिपूर्तीमा विभिन्न सहयोगी संघसंस्थाहरुले समेत काम गरिरहेका छन् । बैतडीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र भिएसओको सहयोगमा पीसवीनले रुपान्तरण कार्यक्रम मार्फत बालविवाह अन्त्यका लागि काम गरिरहेको छ । पालिकाहरुलाई बालविवाह अन्त्यका लागि रणनीति बनाउने काममा समेत सहयोग भइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

स्थानीय तहहरुसंगकै सहकार्यमा जिल्लाका विभिन्न स्थानीय तहका ४५ ओटा वडामा किशोरकिशोरीहरु मार्फत रुपान्तरण कक्षा समेत सञ्चालन भइरहेका पीसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले बताए । उनले भने ‘गाउँमा हुने गरेका बालविवाह रोकथामका लागि किशोरकिशोरीहरुले पहल गरिरहेका छन् । उनीहरुले बालविवाहले पार्ने असरका बिषयमा समेत आफ्नो गाउँठाउँमा सचेतना फैलाइरहेका छन् ।’

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.