Sujang

महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण

रश्मि कुँवर ,मंसिर ,१९ गते , सिलगढी –  डोटीको आदर्श गाउँपालिकाले लामो समयदेखि आधारभूत तहमा स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई सूचना र सञ्चार प्रविधिमा पहुँच बढाउने उद्देश्यले मोबाइल सेट वितरण गरेको छ ।
सोमवार १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पालीकाले  स्वयंसेविकालाई मोबाइल फोन वितरण गरेको हो ।
स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराएका मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काममा सहज होस् भन्ने उद्देश्यले मोबाइल फोन वितरण गरेको आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकाय धामीले बताइन् । उनले भनिन् ,´स्वयंसेविकाले पाएका मोबाइलले सेवाग्राहीलाई पनि परामर्श र अन्य सुविधा लिन सहज हुनेछ।यसले गर्दा स-साना समस्या फोन गरेर नै समाधान हुन सक्छन् ।`
विज्ञान र प्रविधिको विकासको प्रतिफल अनुभूति नै गर्न नसकेका स्वयंसेविकालाई सेवा विस्तार र सहज बनाउने उद्देश्यले पालिकाले मोबाइल सेट उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष गणेश खड्काले जानकारी दिए ।
गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ८७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार र जनताको स्वास्थ्य सुरक्षाका लागी मोबाइल फोन वितरण गरिएको पालीकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर खड्काले जानकारी दिए ।
सिम सहित वितरण गरिएको मोबाइल फोनमा मासिक एक सयका दरले रिर्चाज समेत दिने स्वास्थ्य प्रमुख खड्काले बताए  ।
दिवसका अवसरमा  एक जना  क्यान्सर पीडित स्वयंसेविका र एक  अपाङ्गता महिला स्वास्थ्य स्वयंसेविका लागी जनही पन्ध्र/पन्ध्र हजारका दरले रकम दिने घोषणा गरेको उपाध्यक्ष धामीले बताइन्  ।
यस्तै स्वयंसेविका दिवसमा उत्कृष्ट काम गर्ने चौध जना महिला स्वास्थ्य स्वयंसेविकालाई पालीकाले सम्मान गरेको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.