Sujang

भेडाब्यवसायी हिउँमा चिसो छिचोल्न बेसी

गणेश मौनी ,मंशिर १७, डोटी -बाजुरा जिल्लाको हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडाब्यवसायीहरु हिउँदको समयमा चिसो छिचोल्न परिवार सहित बेसी झर्ने गरेका छन् ।
ब्यवसायीक रुपमा भेडापालन गरिरहेका भेडाब्यवसायीहरु चिसो मौसम सुरु हुन लागे देखि छिमेकी जिल्लाका विभिन्न फाटहरुमा बसाई सर्ने गरेको भेडा ब्यवसायीहरु बताउन्छन् ।

अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो मौसम छिचोल्न डोटी पुगेका बुढीनन्दा नगरपालिका ९ बाजुरा कोल्टीका चन्द बोगटीले आफ्नो रोजगारी र आय आर्जको श्रोत नै भेडापालन भएकोले हिउँदको समयमा चिसोबाट जोगाउन बेसी सर्ने गरेको बताए । बोगटी संग हाल ६०,७० वटा भेडाहरु रहेका छन् ।
चन्द्र बोगटी सहित तिन घर परिवार एक साता देखि भेडा सहित डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । उनिहरु डोटीमा फागुन महिना सम्म बस्नेछन् ।

चार वर्ष देखी यही स्थानमा बस्दै आएको बताउन्छन बुढीनन्द नगरपालिका ९ का अर्का भेडाब्यवसायी मान सिंह थापा । उनि भन्छन भेडा पालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको हो त्यसैलाई हामीले निरन्तरता दिएका हौ । थापा संग हाल ६०,७० वटा भेडाहरु रहेका छन् । उनी एक छोरा र श्रीमती सहित तिन जना संगै बस्दै आएका छन् ।
सोही स्थानमा डेरा सरेर आएका भेडाब्यवसायी बुढीनन्दा नगरपालिका ९ का शिबा गुरुङ संग भने छुट्टै अनुभब छ । उनि सुरुमा अरुको गोठालो भएर काम गर्थे पछी उनि बिस्तारै आफै ब्यवसायीक रुपमा भेडा पालन गर्दै आईरहेका छन् । उनि भन्छन् के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भईयो उनीहरुका अहिले कसैका काठमाण्डौ, कसैका धनगढी, नेपालगञ्ज घर छन आफ्नो भने उही जिन्दगी छ । उनी अहिले उमेरले ४९ वर्षका भए । उनि ५ वर्षको हुदाँ देखि नै अरुको भेडा हेर्ने काम सुरुवात गरेको बताए ।

हाल शिवा संग एक सय भन्दा बढी भेडाहरु छन् । उनि एक छोरा र श्रीमती सहित भेडासंग आएका छन् । उनि भेडाबाट बार्षिक रुपमा ६,७ लाख आम्दानी हुने गरेको समेत बताउन्छन् ।

शिवाको बेसी तिर करिब ४,५ महिनाको बसाई हुने भएकोले कक्षा ३ मा पढ्दै गरेको वर्ष ८ को छोरा लोकसाम गुरुङ पनि संगै आएकोले शिवालाई पढाई बिग्रीने चिन्ता पनि छ ।
बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडाब्यवसायीहरु हिउँदको समयमा चिसो छिचोल्ने विभिन्न स्थानमा बसाई सर्ने भएकोले अधिकांश बालबालिकाहरु पढाईबाट प्रभाबित हुने गरेको देखिन्छ । सरकारले अस्थायी रुपमा बस्ती स्थान्तरण संगै धुम्ती कक्षाहरु संचालन गर्न सके थप प्रभावकारी हुने भेडा ब्यवसायीहरु बताउन्छन् ।
हिउदको चिसो छिचोल्न बेसी झरेका भेडाब्यवसायीहरु भेडाहरु बिक्री बितरण गर्नुका साथै उनको राडी, पाखी, डसीनाहरु पनि बिक्री गर्दै आईरहेका छन् । उनिहरुले प्रति भेडा १५ हजार देखि ३५ हजार सम्म र राडी, पाखीहरु २ हजार देखी ५ हजार सम्म बिक्री गर्ने गरेको समेत ब्यवसायीहरु बताउन्छन् ।

भेडा राखेबाफत सामुदायीक बनलाई मासिक रुपमा ६,७ हजार रोयल्टी तिर्ने गरेको समेत उनिहरु बताउन्छन् ।
बाजुरा जिल्लाका हिमाली क्षेत्रका अधिकांश भेडा ब्यवसायीहरु हिउदको समयमा चिसो छिचोल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.