Sujang

डोटीमा मतदाता शिक्षा प्रभावकारी नहुँदा १४ हजार ३ सय छपन्न मत बदर

डोटीमा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो। प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताउनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो। जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ।

समानुपातिकतर्फ ६४ हजार २७८ मत खसेको थियो। जसमध्ये ५८ हजार ५४२ मत सदर हुँदा पाँच हजार ७३६ मत बदर भएको हो। एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको चार हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सभा (क)तर्फ ३३ हजार ३२२ मत खसेको थियो। जसमध्ये एक हजार ९१९ मत बदर भएको छ। ३० हजार २३४ मत खसेको प्रदेश सभा (ख)तर्फ एक हजार ७३२ मत बदर भएको छ।

प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आलेमगर चार हजार २०६ मतको अन्तरले विजयी हुनुभएको छ। प्रदेश सभा (क)मा नेकपा (एमाले)का चक्र मल्ल ४५० मतको अन्तरले मात्रै विजयी हुनुभएको छ भने प्रदेश सभा (ख)मा नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली ९१८ मतको अन्तरले मात्रै विजयी हुनुभएको छ।

उम्मेदवारबीचको मतान्तर हेर्दा बदर मतको सङ्ख्या घटेको अवस्थामा नतिजा फरक आउने देखिन्छ। निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ।

Salmuni
Leave A Reply

Your email address will not be published.