प्रकाश बम,डोटी –जिल्ला निर्वाचन कार्यालयले डोटीले वोगटान फुड्सिल गाउँपालिका नमूना मतदान कार्यक्रम गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । बडिकेदारबाट सुरु भएको यो कार्यक्रम जिल्लाका अन्य नौ वटै स्थानीय तहमा पनि सञ्चालन गरिने जानकारी दिए।
अहिलेसम्म जिल्लाको बडिकेदार गाउँपालिका ,जोरायल गाउँपालिका हुदै आज बोगटान गाउँपालिकामा नमूना मतदान गरिएको निर्वाचन अधिकारी पन्तले बताए ।
निर्वाचन आयोगको कार्यक्रमअनुसार स्थानीय तहका केन्द्र आसपासका क्षेत्रमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोही अनुसार शुक्रबार गाउँपालिकाको खत्याडीमा नमूना मतदान कार्यक्रममा एक मत बदर भएको थियो । एक जनाले चार मतपत्रमा मतदान गर्नुपर्ने उक्त कार्यक्रममा ५२ जनाले मतदान गर्दा एक मत बदर भएको थियो ।
नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको जिल्ला निर्वाचन अधिकारी पन्तले बताए । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।
आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने छन् । जिल्लामा एक लाख २४ हजार ८ सय ७० मतदाता रहेका छन् ।