

फागुन ४ गते डोटी :डोटी जिल्लाको शिखर नगरपालिका–४ रानीवनमा अवस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा लघुरुद्री पाठसहितको मेला सम्पन्न भएको छ।
आइतबार उक्त कार्यक्रममा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समुद्री सतहदेखि करिब ८५० मिटर उचाइमा अवस्थित यो मन्दिर प्राकृतिक सौन्दर्यले भरिपूर्ण रानीवनको बीचभागमा रहेको छ।

शिवमहापुराणमा उल्लेख भएअनुसार भगवान् पशुपतिनाथका तीन अंग—शिरस्थान, नाभिस्थान र पादस्थान—मध्ये नाभिस्थान यही स्थानमा रहेको धार्मिक विश्वास छ। शिरस्थान भने काठमाडौंस्थित पशुपतिनाथ मन्दिर मा अवस्थित छ।
यस मन्दिरको पूर्वमा शैलेश्वरी मन्दिर, पश्चिममा उग्रतारा मन्दिर, उत्तरमा सानो बडिमालिका मन्दिर तथा दक्षिणमा लाटाकाफली मन्दिर अवस्थित छन्।
यस स्थलबाट डोटीको सदरमुकाम दिपायल–सिलगढीसहित बैतडी, डडेलधुरा, बझाङ, अछाम र बाजुरा जिल्लाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। साथै सुदूरपश्चिमका अपि हिमाल र साइपाल हिमाल को दृश्यसमेत देख्न सकिने भएकाले यो स्थान आकर्षक भ्यू–पोइन्टका रूपमा परिचित छ।
स्थानीयवासी तथा पूर्व सैनिक कर्णबहादुर मल्लका अनुसार धार्मिक, कृषि तथा पर्यटन विकासको ठूलो सम्भावना हुँदाहुँदै पनि पर्याप्त प्रचार–प्रसार र पूर्वाधार विकासको अभावमा यो क्षेत्र ओझेलमा परेको छ। उनले स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गरेर यस क्षेत्रको विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
स्थानीय बासिन्दाहरूले उचित लगानी र योजनाबद्ध विकास भएमा “सुदूरको पशुपतिनाथ” देशकै प्रमुख धार्मिक गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।

