

मंसिर १०, कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशभर विकासको सन्तुलन कायम गर्न सन्तुलित बजेट निर्माण अत्यावश्यक भएको बताएका छन्। बुधबार लम्कीचुहा–४ मा निर्माण हुन लागेको सिटी हल, संग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास गर्दै उहाँले पहाड र तराईबीच विकास असमान देखिएको भन्दै अब दुर्गम पहाडी क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहले सातै जिल्लाको भ्रमणपछि पहाडी क्षेत्रका स्थानीय तहहरू विकासका अवसरबाट पछि परिरहेको महसुस भएको बताउँदै भने,
“तराईमा विकासले फड्को मारेको छ, अब विकास पहाड र दुर्गम बस्तीहरू केन्द्रित हुनुपर्छ।”
ठूला परियोजनाहरू पनि छिट्टै अघि बढ्ने

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत ठूला पूर्वाधार परियोजनाहरू चाँडै शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिए। उहाँले संग्रहालयलाई प्रभावकारी बनाउन स्थानीय तह, जनप्रतिनिधि तथा सरोकारवालाबीच समन्वय र जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे।
१३ करोड १९ लाखमा ठेक्का सम्झौता
प्रदेश सरकारको बजेटमा निर्माण हुने सिटी हल, संग्रहालय र पर्खाल निर्माणका लागि गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौंसँग रु. १३ करोड १९ लाख ३ हजार २१४ रुपैयाँ ७ पैसामा ठेक्का सम्झौता भएको छ।
परियोजनाको कुल लागत रु. २२ करोड ८९ लाख १७ हजार ७ रुपैयाँ ५६ पैसा रहने जनाइएको छ।
बहुउद्देश्यीय सिटी हल
निर्माण सम्पन्न भएपछि सिटी हललाई सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य सामुदायिक गतिविधिका लागि प्रयोग गर्न सकिनेछ। निर्माण कार्य २०८४ असोज ३० भित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ।

