

मंसिर ४ गते, डोटी : जिल्ला बाल सञ्जाल डोटीले सिलगढीमा सामाजिक कुप्रथाविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ।
सञ्जालले बुधवार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा नगरभित्रका पाँच विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै कुप्रथा सम्बन्धी जागरण कार्यक्रम सम्पन्न गरेको हो।
जिल्ला बाल सञ्जालकी अध्यक्ष सपना मलासीका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई छाउपडी, जातीय छुवाछुत, बाल विवाह, लैङ्गिक हिंसा लगायतका सामाजिक कुप्रथाका विषयमा जानकारी प्रदान गरिएको थियो।
उनका अनुसार जिल्लामा लागुऔसध दुर्व्यसनी कर्ता अत्यधिक बढेको तथ्य सार्वजनिक भएको बताइन् ।


बालबालिकासँग गरिएको छलफलमा छाउगोठ अझै पनि कायम रहेको, बाल विवाह, लागु औषध प्रयोग कर्ता बढेको , बाल श्रम लगायतका समस्या पाइएको अध्यक्ष मलासीले बताइन्।
“हामीले कुप्रथासँगै बालबालिकाका समस्याहरू पहिचान गर्ने प्रयास गर्यौँ। छाउपडी, छुवाछुत, बाल विवाह जस्ता समस्या अझै हट्न सकेका छैनन्। यी विषयमा कानुनी व्यवस्था, स्वास्थ्य प्रभाव र पारिवारिक असरबारे विद्यार्थीलाई स्पष्ट जानकारी गरायौँ,” उनले भनिन्।
बाल सञ्जालका सल्लाहकार अंकित श्रेष्ठले बालबालिकालाई सङ्गठित भएर कुप्रथा र हिंसाविरुद्ध आवाज उठाउन पनि प्रेरित गरिएको बताए।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का , प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समिति ,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिपायल सिलगढी नगरपालिकाको सहजिकरणमा गरिएको कार्यक्रममा नगर भित्रका पदम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, भागरथी एकेडेमी ,पवित्रा आवासीय विद्यालय , मर्निङ लाइट बोर्डिङ्ग स्कुल,जेनेस एकेडेमी विद्यालयका १ सय ६१ जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमपछि देखिएका समस्याको दीर्घ समाधानका लागि स्थानीय सरकारसँग छलफल गरिएको सञ्जालले जनाएको छ। सामाजिक कुप्रथाविरुद्ध बाल सञ्जालले जिल्ला भरी यस्ता जागरण अभियान सञ्चालन गर्न लागेको अध्यक्ष मलासिले वताइन् ।

