
डोटीमा मृत भेटिएकी शिक्षिकाको सुसाइड: अर्काको श्रीमान्सँग जीवन जिउन सकिएन, शिक्षा अधिकृत रावल पक्राउ

कार्तिक १२ गते ,डोटी : डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपेन्द्र पालले मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका-११ घर भएका रावललाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका-५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत थिइन् । सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७०० मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेमसम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
खड्काको सुसाइड नोट- अर्काको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सकिएन

मृत फेला परेकी शिक्षिका जानकी खड्काले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट बरामद भएको छ । मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि फेला परेको सुसाइड नोटकै आधारमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सुसाइड नोटमा खड्काले गणेश रावल स्वयंले सामाजिक सञ्जालबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाए पनि देखभेट नभएको उल्लेख गरिएको छ ।

‘अहिलेसम्म ड्याडी-मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो,’ सुसाइड नोटमा लेखिएको छ, ‘के गरुँ भाइ, गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’
बुवा, आमा र भाइलाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोटमा उनले रावलसँग फोनमा कुराकानी गर्नु गल्ती भएको, आमाबुवाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने उल्लेख गरेकी छिन् ।
‘मेरो आयु यत्ति नै रहेछ, के गरुँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइट नोटमा लेखिएको छ ।
खड्काले भाइलाई बिरामी अवस्थाका आमाबुवाको ख्याल गर्न र इज्जत गुम्ने कुनै पनि काम नगर्न भनेकी छन् । आफ्नो अफिसर बन्ने सपना अधुरो रहेकाले हार नखाई पूरा गर्न भाइलाई भनेकी छन् । सुसाइड नोटमै खड्काले आफ्नो मोबाइल बैँकिङ तथा अन्य आर्थिक लेनदेनसमेत उल्लेख गरेर परिवारलाई व्यवस्थापन गर्न अनुरोध गरेकी छन् ।
दुई वर्षअघि निमावि तहको गणित विषयको स्थायी शिक्षक सेवा पास गरेर सरकारी सेवा प्रवेश गरेकी खड्का परिवारको जेठो सन्तान थिइन् । मृतकका भाइ प्रदीप खड्काका अनुसार सिंगो परिवार उनमै आश्रित थियो । तर जानकीले आत्माहत्याको बाटो रोजेपछि परिवारको मूल खम्बा ढलेको छ ।
‘हामी मध्यमवर्गीय परिवार हो । दिदीकै आयस्रोतको भरमा थियौँ । बुवा रक्तचाप र आमा माइग्रेनको बिरामी हुनुहुन्छ,’ भाइ खड्काले भने, ‘हाम्रो परिवारको खम्बा ढल्यो । दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ ।’
अहिले पक्राउ परेका गणेश रावलले आफूलाई समेत फोन गरेर दिदीसँग विवाह गर्ने वातावरण बनाउन आग्रह गरेको, त्यो नभएमा ज्यान मार्ने धम्की दिएको दाबी भाइ खड्काको छ । सोहीअनुसार विवाहका लागि परिवारसँग आफूले कुरासमेत गरेको उनी बताउँछन् ।
जानकीले सुसाइड नोटमा उल्लेख गरेजस्तै रावलले यसअघि नै विवाह गरेका थिए । सन्तानसमेत भइसकेको अवस्थामा श्रीमतीसँग सम्बन्धविच्छेद गरेका उनी जानकीमाथि विवाह गर्न दबाब बढाइरहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालले रावलले यसअघि नै विवाह गरेको कुरा बुझिएको बताउँदै थप अनुसन्धान जारी रहेको बताए ।

