

असार २५ गते ,डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठक सम्पन्न भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यलयको सभाहलमा वैठक सम्पन्न भएको हो ।
बैठकमा सहभागि अधिकांश सूचना अधिकारीहरुले आफ्नो कार्यालयबाट प्रदान गरिने सूचनाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा दिन मिल्ने सूचना कुनै कन्जुस्याइँ नगरी दिने सहभागीहरुले बैठकमा बताएका थिए ।
उक्त बैठकमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले प्रशासनले थालनी गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठक महत्त्वपूर्ण रहेकोे बताए ।
विगतमा सञ्चारकर्मिले सूचना माग गर्दा महिनौं दिन कुर्नुपर्ने बाध्यता यस्ता बैठकले केही मात्रामा भएपनि समाधान हुने बताए । सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठकमा स्थित कार्यालयका सूचना अधिकार मात्र नभएर सबै स्थानीय तहका सूचना अधिकारीको उपस्थिति भए बैठक अझै प्रभावकारी हुने अध्यक्ष बमले बताए ।
पछिल्लो समय भ्रामक सूचना र अफवाह फैलाउने कार्य वढेकाले यस्ता कार्यलाई नियमन गर्नुपर्ने , विपद् तथा आकस्मिक अवस्थाहरूमा सूचना छिटोछरितो गर्नुपर्ने , समाचार लेखेका कारण पत्रकार माथी दिईने धाक धम्किलाई रोक्नुपर्ने लगायतका विषयमा समेत बमले जोड दिएका थिए ।

त्यस्तै पत्रकार कर्ण चन्दले सूचना दिदा सत्य तथ्य दिनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सवै सार्वजनिक निकायका वेवसाईटहरु अद्यावधिक गरी नियमित रुपमा स्वतः प्रकाशन हुने सूचना सार्वजनिक गर्न सूचना अधिकारीहरुलाई निर्देशन दिए ।
वैठक औपचारिकता पुरा गर्नका लागि मात्रै नभएर बैठकमा भएका निर्णयहरु तत्काल कार्यान्वयनमा ल्याउन उनले जोड दिए।
सूचना अधिकारीहरुले गरेको अद्यावधिक विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन समेत निर्देशन दिए ।
चौथो पटक पटक बैठक बसिसकेको बताउदै आगामी बैठकमा भएका निर्णयको कुनै बहानामा कार्यान्वयन नभएको पाइएमा छुट नहुने बताए ।
सूचना आधिकारिक र सञ्चारकर्मी सँगै एउटै ठाउँमा सहभागी गराउँदा गुनासो समयमै समाधान हुने र सूचना आम जनमानसमा चाडै पुग्ने उनले बताए ।
जिल्ला प्रसासन कार्यालय डोटी आयोजनामा सूचना अधिकारी तथा संचार कर्मीको नियमित पाँचौपटक बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी जोशीको अध्यक्षतामा बसेको बैठकमा सेवा प्रभाव, सूचनाको हक कार्यान्वयन लगायत जिल्लाका विभिन्न सरोकारका विषयमा छलफल भएको छ।

