

गणेश मौनी ,जेठ १५डोटी:डोटीको बडीकेदार गाउँपालिकाको वडा नम्बर ३ र ५ का विभिन्न स्थानहरूमा बजार अनुगमनबाट ५३ हजार २ सय ७४ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्य सामाग्री बरामद गरी नष्ट गरिएको छ ।
बडीकेदार गाउँपालिकाले सरोकारवाला निकाय सबैको सहभागितामा संयुक्त रूपमा वडा नम्बर ३ को घागल, तल्लो घागल, ओखलढुङ्गा, र वडा नम्बर ५ को मार्कोट, कुन्थला, रन्तोला, अत्तरकाडा लगायतका स्थानहरूमा बजार अनुगमन गरेको थियो ।
बजार अनुगमन बाट विभिन्न प्रकृतिका म्याद गुज्रेका खाद्य सामाग्रीहरू फेला परेको प्रहरी चौकी खड्यौलीका इन्चार्ज विक्रम डगौराले बताए । उपभोक्ताहरूले सामाग्री खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझाव समेत दिएका छन् ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको म्याद नाघेका चिज बस्तुहरूको विक्री वितरणमा रोक लगाइ, नियम विपरीत मूल्यलाई नियन्त्रण गर्नुका साथै व्यवसायी हरूलाई सम्बन्धित निकायमा दर्ता तथा आबद्धता गर्न सहयोग गर्ने हेतुले बजार अनुगमन गरिएको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

बजार अनुगमनबाट खाद्य पदार्थ सुजी, मसालाहरू, जुस, पाउरोटी, सुजी, कुर्कुरे, नमकिन, बिस्कुटहरू, स्वयाबीन,ज्वानो लगायतका प्राय बढी मात्रामा म्याद गुज्रेका सामग्रीहरू भेटिएका अनुगमन टोलीले जनाएको छ ।
संयुक्त रूपमा गरिएको अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता, नवीकरण, कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको, व्यवसायको नाम,मूल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको जनाइएको छ । बजार अनुगमनमा सबै प्रकृतिका पसलहरू अनुगमन गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा जनप्रतिनिधि, प्रहरी, पत्रकार, कर्मचारी र स्थानीयवासीको सहभागिता रहको थियो ।

