

वैशाख २६ गते : डोटीमा पनि ७३ औँ कानुन दिवस मनाइएको छ । शुक्रवार उच्च अदालत दिपायलको आयोजनामा कानुन दिवस मनाइएको हो ।
प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो।
सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ।

उच्च अदालत दिपायलका मुख्य न्यायधिस शान्तिसिंह थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको थियो।
दिवसका अवसरमा बोल्दै मुख्य न्यायधिस थापाले स्वच्छ, निष्पक्ष, छिटो, छरितो एवं गुणस्तरीय न्याय सम्पादन र प्रभावकारी सेवामार्फत सुदृढ एवं भरोसायोग्य न्याय प्रणालीको स्थापना र विकासका लागि आ–आफ्नो ठाउँबाट सबैले योगदान पु¥याउनुपर्ने बताए ।
कानुन व्यवसायीहरूले पनि सर्वसाधारणलाई छिटो, छरितो न्याय दिने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मुख्य न्यायधिस,न्यायधिस,प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख , जनप्रतिनिधि, उच्च अदालत वारका अध्यक्ष, नेपाल वारका एसोसिएसन अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

