

असोज, ११ गते, डोटी –आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने निर्णय कांग्रेस पालिका सभापतिहरुले गरेका छन् । मंगलबार सिलगढीमा बसेको पालीका कांग्रेस सभापतिहरुको बैठकले गठबन्ध नगर्ने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस दिसिनपा सभापति गणेश मलासिको अध्यक्षतामा बसेको बैठकले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस केआई सिं गाउँपालिका सभापति अर्जुन बलायर बताए । उनले भने,´डोटीमा गठबन्धनको आवश्यकता छैन । गठबन्धन कुनै हालतमा स्वीकार्य हुदैन ।´
केन्द्रिय कार्यसमितिले जवरजस्ती गठबन्धन लाध्न खोजे चुनावी प्रचारप्रसार तथा भोट नहाल्ने निर्णय गरेको समेत बलायरले शिलाखबरलाई जानकारी दिए।

पुर्बीचौकी गाउँपालिका सभापति बलबहादुर खड्काले जनआधार नै नभएको पार्टीलाई गठबन्धन नाममा टिकट दिए कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले भने ,´स्थानीय निर्वाचन जस्तै मंसिर ४ गते मित्रवत प्रतिस्पर्धा गर्दा उपयुक्त हुन्छ ।´
स्थानीय तहको नतिजाअनुसार कांग्रेसको देशभरकै नम्बर १ जिल्ला हुँदाहुँदै गठबन्धनका नाममा अरुलाई दिन खोजे कांग्रेसले शसक्त विद्रोह गर्ने नगर सभापति मलासीले बताए ।
स्रोतका अनुसार गठबन्धनका प्रतिनिधिसभा नेकपा एसका प्रेम आलेलाई र प्रदेशसभाको ‘ख’ क्षेत्र माओवादी केन्द्र त्रिलोचन भट्टलाई दिन लागिएको छ । बाँकी रहेको प्रदेश सभाको ‘क’ निर्वाचन क्षेत्रमात्रै कांग्रेसको भागमा पर्नसक्ने देखिएको छ ।
यही संकेत पाएपछि डोटी कांग्रेसका नेताहरू आक्रोशित भएका हुन् । पार्टीभित्रका सामान्य बिबादलाई हवाला दिँदै गठबन्धन लाद्ने काम भए डोटी कांग्रेस एकढिक्का भएर संस्थागत ढंगबाटै विद्रोहमा जाने कांग्रेस नेताहरुले बताएका छन् ।

