


कार्तिक १३गते , डोटी : जिल्ला अस्पताल डोटीमा कार्यरत कार्यक्रम करारका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू श्रम विभेद अन्त्य र समान सेवा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
अस्पतालमा कार्यरत दरबन्दी करार र कार्यक्रम करारका कर्मचारीहरूले समान प्रकृतिको काम र जिम्मेवारी निर्वाह गर्दै आए पनि सेवा सुविधामा विभेद गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
कर्मचारीहरूका अनुसार स्थायी तथा दरबन्दी करारमा कार्यरत कर्मचारीले सरकारले वृद्धि गरेको तलब, महँगी भत्ता, दसैँ पेस्की तथा पोसाक भत्तालगायतका सुविधा प्राप्त गर्दै आएका छन्। तर, कार्यक्रम करारका कर्मचारी भने यस्ता सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन्।
आफ्ना मागबारे प्रदेश सरकार तथा सम्बन्धित निकायलाई पटक–पटक मौखिक र लिखित रूपमा ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको कर्मचारीहरूले बताएका छन्।
आन्दोलनका कार्यक्रमअन्तर्गत कात्तिक १३ गतेदेखि हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना दिने उनीहरूले जनाएका छन्।
कर्मचारीहरूले आन्दोलनका क्रममा अस्पतालको नियमित स्वास्थ्य सेवा तथा बिरामीलाई कुनै असर नपर्ने गरी विरोधका कार्यक्रम सञ्चालन गर्ने स्पष्ट पारेका छन्।
उनीहरूले समान कामको समान सुविधा, श्रम विभेदको अन्त्य तथा न्यायोचित सेवा सुविधाको व्यवस्था गर्न प्रदेश सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
