

एकेन्द्र चन्द, असोज २३,डोटी : डोटीको बडीकेदार गाउँपालिका–२ स्थित बर्छैन माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८२/८३ को सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले विद्यालयको शैक्षिक गतिविधि, सेवा प्रवाह तथा व्यवस्थापनसँग सम्बन्धित आफ्ना गुनासा र सुझाव राखेका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बिधालयका प्रधानाध्यापक इन्द्र बमले प्रगती प्रतिबेदन सहित बिधालयको समग्र अवस्था बारे जानकारी गराउनु भएको थियो ।
सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा धारणा राखेका थिए।
विद्यार्थी तथा अभिभावकले राखेका गुनासाहरूको सम्बोधन गर्दै प्रधानाध्यापक इन्द्रबहादुर बम र खगेन्द्र बमले प्राप्त गुनासा तथा सुझावलाई सकारात्मक रूपमा लिँदै क्रमशः सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले विद्यालयको कामकारबाहीमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्नुका साथै विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
