

असोज १० गते,डोटी : भारी वर्षाको जोखिमपछि जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाभर सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको पछिल्लो मौसमी जोखिमसम्बन्धी सूचनाका आधारमा डोटी तथा डोटीसँग सीमा जोडिएका जिल्लामा सतर्कता अपनाउन भनिएको भन्दै जिल्ला प्रशासन कार्यालयले सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालयले शनिबार विहान जारी गरेको सूचनाअनुसार असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म जिल्लाका ग्रामीण, स्थानीय तथा मुख्य सडकमा लामो तथा छोटो दूरीका सबै सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी प्रशासनसँग सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्वारा जारी सूचनामा विपद्को जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
“आफू पनि सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ” भन्ने सन्देशसहित प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

