


डोटी, भदौ २६: शिखर नगर स्तरीय अपांगता सञ्जाल पुनर्गठन गरिएको छ। बिहीबार शिखर नगरपालिकामा आयोजित आम भेलाले बासुदेव भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
सञ्जालका उपाध्यक्ष नरी दमाईको अध्यक्षतामा सम्पन्न आम भेलाले अध्यक्षमा बासुदेव भट्ट, उपाध्यक्षमा नरी दमाई, सचिवमा कुन्ती साउद जोरा, सहसचिवमा राईमति सार्की र कोषाध्यक्षमा सरस्वती बलायरलाई चयन गरेको छ।
त्यस्तै सदस्यहरूमा राजेन्द्र बोहरा, लालबहादुर दमाई, हर्केश बलायर, गोविन्द खत्री र पदमा कुमारी बोहरा बलायर चयन भएका छन्। ११ सदस्यीय कार्यसमिति गठन गरिएको सञ्जालका अध्यक्ष बासुदेव भट्टले जानकारी दिए।
भेलाले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समिति संयोजकमा देवबहादुर बोगटी चयन भएका छन् भने सदस्यहरूमा रिता महरा, डम्मरी कामी, चन्द्रा साउद र देव देउवा रहेका छन्।
भेलाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक लेखापरीक्षण गर्ने, एभरेस्ट बैंक शिखर शाखामा रहेको सञ्जालको बैंक खाताका सञ्चालक परिवर्तन गर्ने तथा सञ्जालको सम्पर्क कार्यालय शिखर नगरपालिका–६, मटेलामा राख्ने निर्णय गरेको छ।
त्यसैगरी प्रत्येक महिनाको २० गते मासिक बैठक बस्ने निर्णय गरिएको छ। हाल अपांगता भएका व्यक्तिहरूको तथ्यांक संकलन भइरहेको अवस्थामा गणकहरूसँग समन्वय गरी तथ्यांक संकलन कार्यमा सहयोग गर्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ।
सामुदायिक विकास केन्द्र (सीडीसी) डोटी र लुथरन वल्ड फेडरेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित सक्षम परियोजनाअन्तर्गत सञ्जालले विभिन्न गतिविधिमा सहजीकरण गर्दै आएको छ।
