

भदौ २६ गते ,डोटी :रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि डोटीको आदर्श गाउँपालिका–२ भारिकोटका एक स्थानीयले एक लाख एक हजार २५ रुपैयाँ सहयोग गर्नुभएको छ।
भारिकोट निवासी ७८ वर्षीय गोपाल थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालमार्फत हस्तान्तरण गर्नुभएको हो।
रसुवामा बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै थापाले पीडित परिवारको राहतका लागि आफ्नो तर्फबाट केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको बताउनुभयो।
“विपद् जहाँ आए पनि त्यसबाट पीडित हुने नेपाली नै हुन्। रसुवामा भएको ठूलो क्षतिले दुःखी बनायो। पीडितलाई राहत पुगोस् भनेर सहयोग गर्न पाउँदा खुसी लागेको छ,” थापाले भन्नुभयो।

विपद्का बेला सरकारको राहत तथा उद्धार अभियानमा नागरिकस्तरबाट पनि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले आफ्नो क्षमताअनुसार सबैले विपद्मा परेका नागरिकलाई सहयोग गर्नुपर्ने बताउनुभयो।
स्थानीय देवीलाल रौतेडाले गोपाल थापाले गरेको सहयोगको प्रशंसा गर्दै मानवीय सेवाको यो भावना सबैका लागि प्रेरणादायी भएको बताउनुभयो। उहाँले थापाको दीर्घायु तथा सुस्वास्थ्यको कामनासमेत गर्नुभयो।
चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सहयोगका लागि थापालाई धन्यवाद व्यक्त गर्नुभयो। विपद्का बेला नागरिकबाट प्राप्त हुने सहयोगले राहत तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो।
सहयोगदाता गोपाल थापा विगतमा कालिका गाविसका उपाध्यक्ष समेत रहनुभएको थियो। उहाँ सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको स्थानीयवासी बताउँछन्। उहाँकी श्रीमती पार्वती थापा स्वयंसेवक हुनुहुन्छ भने उहाँका तीन छोरा मानबहादुर थापा, नरबहादुर थापा र प्रताप थापा हुनुहुन्छ।
रसुवामा बाढीबाट भएको क्षतिपछि पीडित नागरिकका लागि विभिन्न क्षेत्रबाट राहत तथा सहयोग जुटिरहेका बेला डोटीका एक स्थानीय नागरिकले गरेको यो सहयोगले विपद्मा परेका नागरिकप्रतिको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
