

लालि खड्का ,भदौ २४, डोटी : जेनजी दिवसका अवसरमा डोटीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।
दिवसको अवसरमा मंगलबार बिहान सदरमुकाम सिलगढीस्थित टुँडिखेलबाट जिल्ला समन्वय समितिको सभाहलसम्म र्याली निकालिएको थियो।
र्यालीपछि जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहको अध्यक्षतामा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा जेनजी पुस्ताको भूमिका, योगदान, सामाजिक रूपान्तरण तथा समृद्ध समाज निर्माणमा युवाको भूमिकाबारे चर्चा गरिएको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक र उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले शहीदहरूलाई सम्झिने मात्र नभई उनीहरूले देखेको सपना पूरा गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जेनजी पुस्ताले सामाजिक रूपान्तरण, सुशासन र सकारात्मक परिवर्तनका लागि खेलेको भूमिकालाई महत्वपूर्ण रूपमा लिनुपर्ने बताइन्। युवाको ऊर्जा, सिर्जनशीलता र नेतृत्व क्षमतालाई सही दिशामा परिचालन गर्न सके समृद्ध र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो। उनले युवाहरूलाई सकारात्मक सोचका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आग्रहसमेत गरिन्।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले युवाहरूले खोजेको परिवर्तन भाषणमा मात्र नभई व्यवहारमा देखिनुपर्ने बताए। सुशासन, भ्रष्टाचार नियन्त्रण, अवसरको समानता, रोजगारी, शिक्षा, स्वास्थ्य र न्यायमा पहुँचजस्ता विषयमा राज्यले परिणाम देखाउन सक्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, जेनजी पुस्ताका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो।
दिवसको अवसरमा साँझ शहीदहरूको सम्झनामा दीप प्रज्वलनसमेत गरिएको थियो। दीप प्रज्वलनमार्फत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
