


भदौ १५ गते ,डोटी : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै डोटीको शिखर नगरपालिका–१, कपल्लेकीस्थित केदारेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूले ६१ हजार ८१५ रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
आपत्–विपद्को समयमा पीडितहरूको घाउमा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक गगन कार्कीले बताए।
उहाँले विपद्को समयमा सहयोगको हात बढाउनु सबैको कर्तव्य र उत्तरदायित्व भएको बताउँदै सहयोग गर्ने सम्पूर्ण विद्यार्थीप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।
