Sujang

मानव अधिकार, नेतृत्व तथा पैरवी तालिमबाट दलित महिला नेतृत्व सुदृढीकरणमा जोड

Ban

साउन ३० गते ,डोटी — दलित महिला तथा अन्य सीमान्तकृत महिलाको अधिकार, नेतृत्व क्षमता र स्थानीय तहमा प्रभावकारी पैरवी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने मानव अधिकार, नेतृत्व तथा पैरवी तालिम सम्पन्न भएको छ।

साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको तालिममा अग्रपंक्तिका दलित महिला नेतृ तथा महिला समूहका नेतृ गरी ३० जनाको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य सहभागी महिलाहरूको नेतृत्व, निर्णय क्षमता, आत्मविश्वास तथा पैरवी सीप विकास गर्नुका साथै स्थानीय तहको नीति, योजना, बजेट तथा सेवा प्रवाहमा दलित महिला र अन्य सीमान्तकृत समुदायका सवाललाई प्रभावकारी रूपमा समावेश गराउन सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय, दलित महिलाका अधिकार, संवैधानिक तथा कानुनी व्यवस्था, स्थानीय तहको नीति तथा योजना निर्माण प्रक्रिया, बजेट, नेतृत्व विकास, सञ्चार, वार्ता, समस्या समाधान, संगठन परिचालन तथा सामूहिक पैरवीलगायतका विषयमा छलफल तथा अभ्यास गरिएको थियो।
तालिमको सहजीकरण सहजकर्ता देबेन्द्र गुरुङले गरेका थिए। सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै स्थानीय समुदायमा देखिएका वास्तविक समस्या र सवाललाई आधार बनाएर समूहगत छलफल, अनुभव आदानप्रदान, प्रस्तुतीकरण तथा व्यवहारिक अभ्यासमार्फत पैरवीका उपायबारे जानकारी गराइएको थियो।

तालिमको समापन कार्यक्रममा फेडो डोटीकी अध्यक्ष सरिता दयालिले अध्यक्षता गरेकी थिइन्। कार्यक्रममा के.आई. सिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौरा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तुलसी पाण्डेयको पनि सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा के.आई. सिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौराले महिलाको नेतृत्व विकास र अधिकारका सवालमा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए। स्थानीय तहको विकास प्रक्रियामा महिलाको सहभागिता केवल प्रतिनिधित्वमा सीमित नभई नीति निर्माण, योजना छनोट, बजेट विनियोजन र कार्यान्वयनसम्म अर्थपूर्ण हुनुपर्नेमा उनले जोड दिए। महिला तथा सीमान्तकृत समुदायका सवाललाई स्थानीय सरकारको प्राथमिकतामा राख्न आवश्यक सहयोग र समन्वयका लागि गाउँपालिका सकारात्मक रहेको उनको भनाइ थियो।

Krishi

महिला तथा बालबालिका शाखा प्रमुख तुलसी पाण्डेयले महिलाका सवाललाई संस्थागत रूपमा सम्बोधन गर्न महिला स्वयंले आफ्ना आवश्यकता र अधिकारका विषयमा स्पष्ट भएर आवाज उठाउनुपर्ने बताइन्। उनले स्थानीय तहबाट सञ्चालन हुने महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायबाट आउने सुझाव र मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखिन्। तालिमले महिलाहरूमा आफ्नो अधिकार र स्थानीय सरकारसँग माग राख्ने तथा पैरवी गर्ने क्षमता बढाउन सहयोग पुगेको उनको भनाइ थियो।
फेडो डोटीकी अध्यक्ष सरिता दयालिले दलित महिलाको नेतृत्व विकास र अधिकारका सवालमा संस्थाले निरन्तर काम गर्दै आएको बताइन्। उनले दलित महिलाले भोग्दै आएका जातीय तथा लैङ्गिक विभेद, सामाजिक बहिष्करण र अवसरको असमानतालाई सम्बोधन गर्न नेतृत्व तहमा रहेका महिलाहरू अझ सशक्त भएर प्रस्तुत हुनुपर्नेमा जोड दिइन्। तालिमबाट प्राप्त ज्ञानलाई समुदायसम्म पुर्‍याएर व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्दै उनले स्थानीय तहसँग सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा सहभागी मिना वि.क.ले तालिमबाट आफ्नो नेतृत्व क्षमता तथा अधिकारका विषयमा बोल्ने आत्मविश्वास बढेको बताइन्। स्थानीय तहमा योजना तथा बजेट निर्माणका क्रममा महिलाका वास्तविक समस्या र आवश्यकतालाई कसरी प्राथमिकतामा राख्न सकिन्छ भन्ने विषयमा तालिमबाट व्यवहारिक ज्ञान प्राप्त भएको उनको भनाइ थियो। उनले सिकेका कुरा आफ्नो समुदायमा प्रयोग गर्दै अन्य महिलालाई पनि सचेत र संगठित बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रम संयोजक शंकर वि.क.ले तालिमको उद्देश्य केवल तीन दिनको प्रशिक्षणमा सीमित नरहेको बताए। उनले सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्दै दलित महिला तथा सीमान्तकृत महिलाका सवाललाई स्थानीय सरकारसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए।

उनले के.आई. सिंह गाउँपालिकालाई महिलालक्षित नीति, बजेट तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा थप प्राथमिकता दिन अनुरोध गर्दै संस्थासँग आवश्यक समन्वय र ‘म्याचिङ’ गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आग्रह गरे। महिला तथा दलित समुदायका सवाललाई स्थानीय तहको प्राथमिकतामा राख्न सके त्यसको प्रत्यक्ष लाभ समुदायका महिलाहरूले पाउने उनको भनाइ थियो।
कार्यक्रम संयोजक वि.क.ले स्थानीय तह र सामाजिक संस्थाबीच सहकार्य, समन्वय तथा साझेदारीबाट सीमित स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने बताए।

गाउँपालिकाका प्रतिनिधिहरूले पनि महिला तथा सीमान्तकृत समुदायका सवाललाई सम्बोधन गर्ने कार्यक्रमका लागि सकारात्मक प्रतिक्रिया दिएका थिए। स्थानीय तह, महिला समूह तथा सामाजिक संस्थाबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका थिए ।
तालिमका सहभागीहरूले मानव अधिकार, लैङ्गिक समानता तथा सामाजिक न्यायका विषयमा आफ्नो ज्ञान अभिवृद्धि गर्नुका साथै स्थानीय तहको नीति, योजना र बजेट प्रक्रियामा प्रभावकारी रूपमा पैरवी गर्ने सीप हासिल गरेको आयोजकले जनाएको छ।

तालिमले सहभागीहरूमा नेतृत्व, सञ्चार, निर्णय क्षमता, वार्ता तथा समस्या समाधान गर्ने सीपमा सुधार आउनुका साथै मानव अधिकार उल्लङ्घन, जातीय तथा लैङ्गिक विभेद र अन्यायका घटनामा आवाज उठाउने क्षमता विकास हुने अपेक्षा गरिएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.