


असार २८, डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका–२, सुनार टोल ठगुली सुनार मृत अवस्थामा भेटिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आईतवार दिउसो करिब ४ः१५ बजेको समयमा सेती नदीको किनारमा उनी मृत अवस्थामा भेटिएकी हुन् । दिपायल सिलगढी नगरपालिका–३ स्थित जिल्ला आयुर्बेद अस्पताल नजिकै सेती नदी किनारमा शव देखेपछि सो वडाका वडाध्यक्ष नारायण सिंह साउँदले प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाएपछि प्रहरी नायब निरीक्षक डम्बर कठायतको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुग्दा नदी किनारमा पानीमा उत्तानो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीले बुझ्दा उक्त शव करीव ७० बर्षीया ठगुलीको भएको बुझिएको छ । घटनाको बिषयमा थप केही खुलेको छैन । प्रहरीले घटनावारे अनुसन्धान भईरहेको जनाएको छ ।

