

असार १८ गते ,डोटी : दलित महिला संघ डोटीको आयोजना तथा के.आई. सिंह गाउँपालिकाको साझेदारीमा वडा नं. ४ र ५ का दलित तथा सीमान्तकृत समुदायका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको पाँच दिने अन फाम तथा अफ फाम उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
महिलाहरूको आर्थिक आत्मनिर्भरता, उद्यमशीलता विकास र दिगो जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा १० वटा महिला समूहका ५० जनाको सहभागिता रहेको थियो। वडा नं. ५ मा असार १० देखि १४ गतेसम्म तथा वडा नं. ४ मा असार १२ देखि १६ गतेसम्म तालिम सञ्चालन गरिएको थियो।
तालिममा उद्यमशीलता, व्यवसाय अवसर पहिचान, व्यवसाय योजना निर्माण, वित्तीय साक्षरता, बजार व्यवस्थापन, व्यवसाय दर्ता तथा उद्यम सञ्चालनका विषयमा सैद्धान्तिक ज्ञान दिइएको थियो। साथै स्थानीय स्रोत–साधनमा आधारित अचार उत्पादन, खाद्य स्वच्छता, लागत निर्धारण, प्याकेजिङ, लेबलिङ र बजारीकरण सम्बन्धी व्यावहारिक अभ्यास समेत गराइएको थियो।
घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता चन्द्र सिंह धामी र सहजकर्ता कल्पना बमले सहजीकरण गर्दै स्थानीय स्रोतको सदुपयोगमार्फत साना तथा घरेलु उद्योग सञ्चालनका व्यवहारिक उपायबारे प्रशिक्षण दिनुभएको थियो।
वडा नं. ५ मा आयोजित उद्घाटन कार्यक्रममा दलित महिला संघ डोटीकी जिल्ला अध्यक्ष सरिता दयालीको अध्यक्षता तथा वडा अध्यक्ष दुर्गा सिंह रावलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा फेडाे डोटीका जिल्ला संयोजक शंकर विकले महिलामाथि हुने हिंसाको प्रमुख कारण आर्थिक निर्भरता भएको उल्लेख गर्दै महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा व्यक्तिगत सशक्तीकरण अपरिहार्य रहेको बताउनुभयो।

वडा अध्यक्ष दुर्गा सिंह रावलले स्थानीय सरकारले महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी योजना तथा बजेटमा उत्पादनमुखी र उद्यम प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस्तै, वडा नं. ४ मा सम्पन्न समापन कार्यक्रममा वडा अध्यक्ष जयलाल धामीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष मीना देवी बिष्टको प्रमुख आतिथ्यता रहेको थियो। उपाध्यक्ष बिष्टले गाउँपालिकाले निर्माण गरेको कृषि प्रवर्द्धन तथा संकलन केन्द्र स्थानीय महिला उद्यमीहरूलाई निःशुल्क उपलब्ध गराइने जानकारी दिँदै स्थानीय उत्पादनको प्रशोधन, भण्डारण र बजारीकरणमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो।
समापन कार्यक्रममा वडा अध्यक्ष जयलाल धामीले आगामी वर्षदेखि महिला समूहलाई लक्षित उत्पादनमूलक तथा आयआर्जन केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यक्तिगत तथा सामूहिक उद्यम सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र अन्य महिलालाई समेत सीप हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजकका अनुसार उक्त तालिमले दलित तथा सीमान्तकृत महिलाको आर्थिक, सामाजिक र व्यक्तिगत सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय सरकार र महिला समूहबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

