Sujang

आदर्श गाउँपालिकाले ल्यायो ५५ करोड ९४ लाख ९६ हजारको बराबरको बजेट

Ban

डोटी, असार १० – डोटीको आदर्श गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ९४ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।गाउँपालिकाको १९ औँ गाउँ अधिवेशन अन्तर्गत सम्पन्न गाउँसभाको बैठकमा उपाध्यक्ष लक्ष्मी रोकायाले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। गाउँसभा गाउँपालिका अध्यक्ष गणेश खड्काको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत भुवनराज पाण्डेको समन्वय रहेको गाउँपालिकाले जनाएको छ।

उपाध्यक्ष रोकायाले प्रस्तुत गर्नुभएको बजेट अनुसार गाउँपालिकाको कुल आय अनुमान ५५ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको छ। बजेटको मुख्य स्रोत संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान रहेका छन्। आयतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ९ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँड १० करोड ३ लाख २ हजार रुपैयाँ, सशर्त अनुदान २६ करोड १९ लाख रुपैयाँ, विशेष पुँजीगत अनुदान १ करोड ५ लाख रुपैयाँ तथा समपूरक पुँजीगत अनुदान १ करोड ९८ लाख रुपैयाँ समावेश गरिएको छ।

Krishi

त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ५२ लाख ६१ हजार रुपैयाँ, सवारी साधन कर (राजस्व बाँडफाँड) ३० लाख ९० हजार रुपैयाँ, सशर्त अनुदान ३ करोड १७ लाख रुपैयाँ, विशेष अनुदान ६६ लाख ५० हजार रुपैयाँ तथा समपूरक अनुदान १ करोड ८१ लाख ९३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने तथा गत आर्थिक वर्षको मौज्दातबाट ५० लाख रुपैयाँ उपयोग गर्ने लक्ष्य लिएको छ।

व्ययतर्फ विषयगत शाखामार्फत सञ्चालन हुने सशर्त कार्यक्रमका लागि २९ करोड ३६ लाख रुपैयाँ, कर्मचारी तथा जनप्रतिनिधिको पारिश्रमिक, प्रशासनिक तथा चालु खर्चका लागि ११ करोड ६७ लाख रुपैयाँ, समपूरक कोषका लागि ४ करोड ६३ लाख ९३ हजार रुपैयाँ तथा पालिका र वडा स्तरका विकास आयोजना तथा पुँजीगत कार्यक्रम सञ्चालनका लागि १० करोड २८ लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभा समापन गर्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले १९ औँ गाउँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ, समर्थन, सुझाव तथा सहभागिता जनाउनुहुने सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी, बुद्धिजीवी तथा गाउँपालिकावासीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त रचनात्मक सुझाव, विश्वास र सहकार्यकै कारण अधिवेशन सभ्य, व्यवस्थित तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको उल्लेख गर्दै गाउँपालिकाको समृद्धि, सुशासन र दिगो विकासको साझा यात्रामा आगामी दिनमा पनि यस्तै आत्मीय सहयोग, सद्भाव र सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

उपाध्यक्ष लक्ष्मी रोकायाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो। सीमित आन्तरिक स्रोतका बाबजुद उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनअपेक्षाअनुसारका कार्यक्रम कार्यान्वयन गरिने उहाँको भनाइ थियो।प्रमुख प्रशासकीय अधिकृत भुवनराज पाण्डेले गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितामा विशेष ध्यान दिइने बताउनुभयो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.