

डोटी, जेठ २७ — नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि तथा सञ्चारमाध्यमसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले डोटीमा पत्रकारहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार दिपायलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख तथा उप निर्देशक केदारनाथ भट्टले बीमा क्षेत्रको वर्तमान अवस्था,बीमाको महत्व तथा आम नागरिकसम्म सही सूचना प्रवाह गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले बीमा सम्बन्धी सूचना र सन्देशलाई जनस्तरसम्म पुर्याउन पत्रकारहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बलमेले यस्ता छलफल तथा अन्तरक्रिया कार्यक्रमले बीमा क्षेत्रका समस्या पहिचान गर्न तथा समाधानका उपाय खोज्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
उहाँले बीमा सम्बन्धी जनचेतना विस्तारमा सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।
सहभागी पत्रकारहरूले बीमा सेवा, पहुँच, जनचेतना तथा सूचना प्रवाहसँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव र अनुभवहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा बीमा क्षेत्रको विकास, बीमा पहुँच विस्तार, सेवाको प्रभावकारिता तथा सञ्चार क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल गरिएको थियो।
नेपाल बीमा प्राधिकरणले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत बीमा सम्बन्धी जानकारीलाई आम नागरिकसम्म पुर्याउने तथा सञ्चारमाध्यमसँगको सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ।
अन्तरक्रियामा जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।

