


सुबास नेपाली ,जेठ २६ डोटी : डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ स्थित ऐतिहासिक तिखा गढी क्षेत्रमा नेपाली सेनाद्वारा निर्माण गरिएका भौतिक संरचनाहरू नगरपालिकालाई हस्तान्तरण गरिएको छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने उक्त गढीको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएका संरचनाहरू एक कार्यक्रमका बीच श्री नं ५ बाहिनी अडडाका बाहिनीपति सहायक रथी सरोज कुमार अधिकारीले दिआअयल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्कालाई हस्तान्तरण गर्नुभएको हो।
तिखा गढी सुदूरपश्चिम प्रदेशका अन्य गढीहरूको तुलनामा मजबुत र फराकिलो संरचना भएको गढीका रूपमा परिचित छ। ठूला–ठूला ढुङ्गाको प्रयोग गरी फराकिलो पर्खालसहित निर्माण गरिएको यस गढीका भग्नावशेषहरूले यसको ऐतिहासिक महत्वलाई स्पष्ट रूपमा झल्काउँछन्। इतिहासअनुसार नेपाल एकीकरणको क्रममा वि.सं. १८४७ भदौ ३१ गते तत्कालीन शाही नेपाली सेनाले डोटी राज्यमाथि कब्जा गरेको थियो। त्यसबेला डोटी राज्यका राजा दीप शाही आफ्ना छोरा पृथपति शाही तथा परिवारसहित भारततर्फ पलायन भएपछि गढी संरक्षणको अभावमा जीर्ण बन्दै गएको मानिन्छ।
नेपाल एकीकरणका क्रममा तत्कालीन शाही नेपाली सेनाले समेत प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको यस गढी परिसरमा मालिका भगवतीको मन्दिर अवस्थित रहेकाले यसलाई “मालिका गढी” नामले पनि चिनिन्छ।
धार्मिक आस्थासँग जोडिएको यस स्थलले स्थानीय समुदायको सांस्कृतिक पहिचानलाई समेत प्रतिनिधित्व गर्दै आएको छ।
कार्यक्रममा बोल्दै नेपाली सेनाका प्रतिनिधिहरूले नेपाली सेनाले देशका विभिन्न स्थानहरूमा “शीघ्र प्रभावी आयोजना (QIPs)” अन्तर्गत आवश्यक भौतिक संरचनाहरू निर्माण गरी स्थानीय निकायलाई हस्तान्तरण गर्दै आएको जानकारी दिए। सोही कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट तिखा गढी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरिएको जनाइएको छ।
दिपायल सिलगढी नगरपालिकासँगको समन्वय तथा सहकार्यमा, सुदूरपश्चिम पृतना मुख्यालयको निर्देशन र नं. ५ बाहिनी अड्डाको सुपरिवेक्षणमा श्री भैरव प्रसाद गणका सकल दर्जाहरूको अथक योगदानबाट निर्माण कार्य सम्पन्न गरिएको हो। मिति २०८२ मंसिर २५ गतेदेखि सुरु भएको निर्माण कार्य २०८३ जेठ १८ गते सम्पन्न भएको थियो।
नेपाली सेनाले निर्माण सम्पन्न संरचनाहरू दिपायल सिलगढी नगरपालिकालाई हस्तान्तरण गर्दै ऐतिहासिक धरोहर, स्थानीय संस्कार तथा धार्मिक परम्पराको संरक्षणमा स्थानीय समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, गढी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनले पर्यटन विकासमा टेवा पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजिसिं खडकाले बताउनुभयो ।
तिखा (मालिका) गढीको संरक्षण तथा विकासका लागि नेपाली सेनाले गरेको कार्य स्वागतयोग्य रहेको बताउँदै यसले ऐतिहासिक सम्पदाको जगेर्ना र भावी पुस्तालाई इतिहासबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा जिल्ला स्थित सुरक्षा समितीका पदाधिकारीहरु,स्थानिय लगायतको उपस्थिति रहेको थियो।

