Sujang

शिखरका आठ वडामा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

Ban

जेठ २० गते,डोटी : शिखर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत दलित महिला संघ (फेडो) जिल्ला शाखा डोटीको आयोजना तथा नगरको सहयोगमा वडा नं. १, ३, ४, ५, ७, ९, १० र ११ मा सञ्चालन गरिएको “मनोसामाजिक परामर्श सम्बन्धी वडा स्तरीय कार्यक्रम” सम्पन्न भएको छ।

समुदायस्तरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा महिला सञ्जाल, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, शिक्षिका,किशोरी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

आठवटै वडामा गरी करिब १,२०० जना सहभागी प्रत्यक्ष रूपमा लाभान्वित भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर प्रमुख अतिथि तथा नगर उपप्रमुख सुनिता रावल जोरा विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए ।

कार्यक्रम सम्बन्धित वडाका वडा अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

कार्यक्रमका सहजकर्ता हेम बमले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्म–हेरचाह, मनोसामाजिक सहयोग, घरेलु तथा लैङ्गिक हिंसाको मानसिक प्रभाव, किशोरीहरूको मानसिक स्वास्थ्य तथा प्रारम्भिक परामर्शसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। सहभागीहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल तथा अनुभव आदानप्रदानमार्फत विषयवस्तु बुझाइएको थियो।

कार्यक्रम सञ्चालन तथा उद्देश्यबारे जानकारी गराउँदै दलित महिला संघ (फेडो) डोटीका जिल्ला संयोजक तथा दलित अधिकारकर्मी शंकर विश्वकर्माले मानसिक स्वास्थ्यलाई समाजले अझै पर्याप्त प्राथमिकता दिन नसकेको बताउनुभयो। उहाँले समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभाव, सामाजिक विभेद, घरेलु हिंसा, आर्थिक असुरक्षा तथा सामाजिक दबाबका कारण विशेषगरी महिला तथा किशोरीहरू बढी प्रभावित भइरहेको उल्लेख गर्नुभयो।

Krishi

उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण विषय हो। समस्या लुकाएर राख्ने होइन, समयमै सहयोग खोज्ने संस्कारको विकास गर्न आवश्यक छ। यस कार्यक्रमले समुदायमा मानसिक स्वास्थ्यबारे खुला छलफलको वातावरण सिर्जना गरेको छ,जुन आफैंमा महत्वपूर्ण उपलब्धि हो।”

प्रमुख अतिथि नगर प्रमुख दिर्घ बलायरले मानसिक स्वास्थ्य अहिलेको समाजको महत्वपूर्ण चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै स्थानीय सरकारले यस विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले महिला, किशोरी तथा सिमान्तकृत समुदायलाई लक्षित कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउँदै आगामी दिनमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “मानसिक रूपमा स्वस्थ नागरिक बिना समृद्ध समाजको कल्पना गर्न सकिँदैन। स्थानीय सरकार समुदायको आवश्यकता अनुसार यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा समेत प्राथमिकताका साथ सञ्चालन गर्न प्रतिबद्ध छ। विशेषगरी महिला, किशोरी तथा हिंसाबाट प्रभावित समुदायका लागि आवश्यक सहयोग र पहुँच सुनिश्चित गरिनेछ।”

विशिष्ट अतिथि नगर उपप्रमुख सुनिता रावल जोराले महिलाहरूले विभिन्न सामाजिक तथा पारिवारिक कारणले मानसिक तनाव भोग्नुपरेको वास्तविकता औँल्याउँदै यस्ता कार्यक्रमले महिलाहरूलाई आफ्ना भावना र समस्याहरू खुला रूपमा व्यक्त गर्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्यलाई परिवार, विद्यालय तथा समुदायस्तरबाटै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी जानकारीको अभाव रहेको र यस्ता कार्यक्रमले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। किशोरी सहभागीहरूले विद्यालय तथा समाजमा भोग्ने मानसिक दबाब, आत्मविश्वासको कमी तथा विभिन्न सामाजिक चुनौतीबारे खुला रूपमा छलफल गर्ने अवसर प्राप्त भएको बताएका थिए।

वडा नं. ११ की महिला सञ्जाल अध्यक्ष कमला बलायरले भनिन्, “पहिलो पटक मानसिक स्वास्थ्यको विषयमा यति खुला रूपमा छलफल गर्ने अवसर पायौं। तनाव, चिन्ता र भावनात्मक समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने धेरै कुरा सिक्न पायौं।”
त्यस्तै वडा नं. ५ की रमा साउदले भनिन्, “घरायसी समस्या र तनावका विषयमा खुलेर कुरा गर्न सकिने वातावरण बनेको छ। यस्ता कार्यक्रमले महिलाहरूको आत्मविश्वास बढाउन सहयोग गर्छ। यदि तालिम केही दिन थप सञ्चालन भएको भए अझ प्रभावकारी हुने थियो।”

कार्यक्रमको समापनका अवसरमा दलित महिला संघ (फेडो) डोटीका जिल्ला संयोजक शंकर विश्वकर्माले शिखर नगरपालिकाप्रति विशेष धन्यवाद व्यक्त गर्दै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगजस्तो महत्वपूर्ण विषयलाई स्थानीय सरकारको नीति तथा कार्यक्रममा समावेश गरी समुदायस्तरमा कार्यान्वयन गरेकोमा प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, “शिखर नगरपालिकाले समुदायको वास्तविक आवश्यकता पहिचान गरी मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ। आठवटै वडामा सञ्चालन गरिएको यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सहभागीहरूको उत्साह, खुलापन र सकारात्मक प्रतिक्रियाले कार्यक्रमको प्रभावकारिता पुष्टि गरेको छ। आगामी दिनमा पनि स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्यलाई थप सुदृढ गर्दै मानसिक रूपमा स्वस्थ, सुरक्षित र समावेशी समाज निर्माणका लागि संयुक्त प्रयास जारी रहने विश्वास व्यक्त गर्दछु।”

आयोजक संस्थाका अनुसार कार्यक्रममार्फत समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि हुनुका साथै तनाव व्यवस्थापन, आत्म–हेरचाह, हिंसाको मानसिक प्रभाव तथा प्रारम्भिक मनोसामाजिक सहयोगसम्बन्धी ज्ञान र सीप विकास भएको छ। सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.