

बैशाख ८ गते डाेटी : डोटीमा सेती नदीमा नुहाउने क्रममा एक युवक बगेर बेपत्ता भएका छन्।
दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा मंगलबार दिउँसो करिब १:५० बजे नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल सोही स्थानमा रहेको क्रसर उद्योगमा कार्यरत अन्दाजी २१/२२ वर्षीय दीपक बोहरा बगेर बेपत्ता भएका हुन्।

प्रहरी नायब निरीक्षक डम्बर कठायतको कमाण्डमा ८ जनाको टोली तथा सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रे डोटीबाट सशस्त्र प्रहरी निरीक्षक सुजन पोखरेलको नेतृत्वमा १३ जनाको टोली परिचालन गरिएको छ।
टोलीले दिउँसो करिब ३:३० बजेदेखि घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बेपत्ता युवक सिएबी दुनिला क्रसर उद्योगमा कार्यरत हुन् । कम्पनीका सञ्चालक भानु बोहराले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो ।

