Sujang

अल्छी र कर्मविहीन नबनौँ

Ban

अल्छी र कर्मविहीन नबनौँ
डिल बहादुर महरा
कविता :शार्दूलविक्रीडित

छेपारो कति घाम ताप्न दिनमा हाँदा मुढा रोज्दछ
पक्कै बाल्दछु अग्नि रात नहुँदै एक्लै बसी सोच्दछ ।
बोली सुन्दर कर्ममा अगतिलो अर्को यहाँ कोइली
अर्काको गुँडभित्र राख्छ फुल जो देखिन्छ साह्रै छली ।१।

 

Krishi

उड्दै बादल ठोक्किदैँ गगनमा सङ्घर्ष नै गर्दछ
अर्काको हितनिम्ति कष्ट सहँदै पानी बनी झर्दछ ।
मौरीले मह दिन्छ कर्मठ बनी के दिन्छ खै माकुरा ?
हो साँच्चै अब बुझ्नुपर्छ सबले अल्छीहरूका कुरा ।

 

गाईले पनि घाँस दिन्न कहिल्यै बाच्छो सँगै चर्दछ ।
खाना कर्मबिना उडेर मुखमा आफै कहाँ पर्दछ ?
चाहन्छन् गुरु बन्न कर्म नगरी मिथ्या कुरा मान्दछु
अल्छीको पनि काम छैन अब ता साँचो यहीँ जान्छु ।३।

 

घुम्ने गर्छ सदैव सूर्य नभमा ब्रह्माण्डको कर्ममा
छर्ने गर्छ प्रकाश चन्द्र जहिल्यै लागी सदा धर्ममा ।
हावा बस्छ कहाँ लुकेर भवमा आराम गर्ने बनी
गर्नै पर्दछ कल्पना मनुजले हुन्थे कहाँ जीवनी ?

 

अल्छी,कर्म विहीन शत्रु सबका बन्छन् सधैँ बाधक
होलान् अर्थविहीन जीवन सदा यो सृष्टि चल्दा तक ।
अल्छी दूर गरेर कर्मठ बने सानो कहाँ हुन्छ र ?
धर्ती स्वर्गसमान जीवन उसै आफै हुने सुन्दर ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.