दल दिपेश बिसीका दश मुक्तक
१.
मध्यमा बस्नुस् ,डिलमा म मुक्तक सुनाउँछु
वाह!भन्नै पर्छ हिलमिलमा म मुक्तक सुनाउँछ
मेरो रुने बानी छ ,उनको रुवाउने बानी छ
नपुग्दै उनी महफिलमा म मुक्तक सुनाउँछु
२.
के उमार्छ कस्तो फल्छ उसको मायाले
पाक्नु अगावै रुख ढल्छ उसको मायाले
मलाई पागल बनाई छोडी अर्कैसँग भागी
अचेल अर्को पनि पागल छ उसको मायाले
३.
मन समालिन्थ्यो हुन्थे आभारी यत्ति भनिदेऊ
किन,के कारणले ? माया मारी यत्ति भनिदेऊ
मुटु दिन्छु कलेजो दिन्छु भन्थ्यौ छोडी गयौ
तिमी प्रेमिका हौ कि व्यापारी यत्ति भनिदेऊ
४.
पीडा छैन नसोच्नुस् मनमा आँग छैन
नोक्सान भएको छ लगभग लाभ छैन
देखावटी हो केबल म मुस्कुराएको कुरा
उनिले छोडे देखी यता पनि ठिकठाक छैन
५.
पक्कै हुन्छ पछुतोको आभास तिमिलाई
लागुँला कुनै दिन फेरि म खास तिमिलाई
मुटु सुम्पेर भुल गरे विश्वासको मत तोड्यौ
उपहारमा आँसु दियौ स्याबास तिमिलाई
६.
आमुन्ने सामुन्ने आउँ रिस लाग्छ भय लाग्छ
तिम्रो चाप्लुसी मलाई भद्दा अभिनय लाग्छ
कि रुखमा चढेर सिधै शिरमा छलाङ हान
नत्र कमिलो खुट्टामा पुग्न थोरै समय लाग्छ
७.
त्यो भन्दा ठुलो लाग्दैन जस, हेरिदिए पुग्छ
खुल्दुली हुन्छन् तहसनहस, हेरिदिए पुग्छ
नजिक आइ अँगालोमा बेरिनै पर्छ भन्ने छैन
मन परेकीले त टाढैबाट बस, हेरिदिए पुग्छ
८.
हरेक क्षेत्रमा जितै जित छ कसै कसैको
पन्छिने पन्छ्याउने मात्रै रित छ कसै कसैको
कोही भने समयको अभावमा दौडिँदै छन्
फेरि कुरा काट्दै दिन बित्छ कसै कसैको
९.
घरी रुवाउन घरी हँसाउन याद पठाउँछ
मेरो तड्पाइमा मुस्कुराउन याद पठाउँछ
मुटु छोडेर आँखाको आँसु बनेको मान्छेले
बेला बेला पागल बनाउन याद पठाउँछ
१०.
मुन्डा चड्को कान ढुकुरि थ्या पैल्ला पैल्ला
मोटाया अचेल सुकुरी थ्या पैल्ला पैल्ला
अचेल तुम अर्खाइकि मुटु भयाकी रहिछौ
मेरा ज्यानकी टुकुरि थ्या पैल्ला पैल्ला
दलदिपेश बिसी , आदर्श गाउँपालिका -५ डोटी