दिलबहादुर महरा
शीर्षक :- “कस्तो छ तिम्रो दशैँ ?”
छ्न्द:- शार्दूलविक्रीडित
। १।
डुब्छन् नेत्र तमाम अश्रु भलमा,चिर्दैछ छाती शर ।
आफैँभित्र हराउँछन् कति यहाँ,देख्दा दशैँ बर्बर ।।
एक्लो श्वास न आश बास गतिलो,यस्तो छ मेरो दशैँ ।
ए साथी ! कसरी हुँदैछ भनिद्यौ,कस्तो छ तिम्रो दशैँ ?
।२।
गन्दैछन् दिनरात आयु पिरमा,राँगा र बोकाहरू ।
के बुझ्थे बिचरा सहस्र कुखुरा,मारिन्छ भेडा अरू ।।
छन् बिस्मात भरा अनन्त सपना,यस्तो छ मेरो दशैँ ।
ए साथी ! कसरी हुँदैछ भनिद्यौ,कस्तो छ तिम्रो दशैँ ?
।३।
मानो चामल दाम शून्य रहँदा,वस्ती कुना कन्दरा ।
भत्किन्छन् अझ कल्पना रहरका,उल्लासका टाकुरा ।।
हावा पोल्दछ दृश्य गर्छ हमला,यस्तो छ मेरो दशैँ ।
ए साथी ! कसरी हुँदैछ भनिद्यौ,कस्तो छ तिम्रो दशैँ ।।
।४।
कस्ले सुन्दछ दीनहीन जनका,चीत्कार नानाथरी ।
बन्ने गर्छ दशैँ दशा सरहको,आवेग कुण्ठा भरी ।।
छन् चीत्कार र झर्किँदै बहकिने,यस्तो छ मेरो दशैँ ।
ए साथी ! कसरी हुँदैछ भनिद्यौ,कस्तो छ तिम्रो दशैँ ?
।५।
गर्दैछन् किनमेल मांस मदिरा,तड्पेर भोगीहरू ।
छायो अस्थिरता भयो छटपटी,छन् खिन्न रोगीहरू ।।
देख्दा छिन्न र भिन्न साथ पिरलो,यस्तो छ मेरो दशैँ ।
ए साथी ! कसरी हुँदैछ भनिद्यौ,कस्तो छ तिम्रो दशैँ ?