

फागुन १३ गते ,डोटी :डोटीमा आयोजित निर्वाचन तथा सञ्चारसम्बन्धी जिल्ला स्तरीय अन्तरक्रियामा डोटीका मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। जिल्ला निर्वाचन व्यवस्थापन समिति डोटीले मंगलवार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले मिडियाले आचारसंहिता उल्लङ्घन, गलत सूचना तथा अन्य गतिविधिबारे जानकारी गराउन सक्ने बताए।
उनले सञ्चारकर्मीहरूले लिखित उजुरी दिनैपर्छ भन्ने अनिवार्य नभए पनि आचारसंहिता उल्लङ्घनका विषयमा लिखित उजुरी आए राम्रो हुने स्पष्ट पारे। फेक न्यूज, भिडियोमार्फत भ्रम फैलाउने, चरित्र हत्या गर्ने वा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिमाथि विद्युतीय कसुर ऐनअन्तर्गत सरकारवादी मुद्दा दायर गरिने र आवश्यक परे उम्मेदवारको उम्मेदवारी रद्दसम्मका कारबाही गरिने उनले जानकारी दिए। उम्मेदवार वा उनका परिवारका सदस्यविरुद्ध भ्रम फैलाए दुवैतर्फबाट—विद्युतीय कसुर र आचारसंहिता उल्लङ्घन—कारबाही हुने पनि उनले बताए।

जिल्लामा भ्रमपूर्ण सामग्री हटाउनका लागि विशेष ‘सेल’ गठन गरिएको र यस्ता गतिविधि देखिए टोल–फ्री नम्बर ११०२ मा जानकारी गराउन आग्रह गरिएको छ। उजुरी सिधै निर्वाचन आयोग वा जिल्ला तहमा दिन सकिने र आवश्यक परे आयोगमा पठाइने उनले बताए।
मतदान र मतगणनाका बेला पत्रकारलाई रिपोर्टिङमा सहजता दिन मतदान अधिकृतहरूलाई तालिममार्फत निर्देशन दिइने जानकारी दिँदै उनले मतगणना स्थलमा सबै पत्रकारलाई प्रवेश दिन सम्भव नहुने अवस्थामा ह्वाट्सएप ग्रुपजस्ता माध्यमबाट नियमित अपडेट उपलब्ध गराइने प्रतिबद्धता जनाए।
कर्मचारी खटाउने विषयमा उठेका असन्तुष्टिबारे उनले जिल्ला जनशक्ति समन्वय व्यवस्थापन समितिले मापदण्डभित्र रहेर सिफारिस गरेका कर्मचारी खटाइएको बताए। आवश्यकताभन्दा बढी कर्मचारी रहेकाले केही असन्तुष्टि स्वाभाविक भएको उनको भनाइ थियो। जिल्ला अदालत डोटीका करार कर्मचारीलाई पनि विभिन्न काममा संलग्न रहेकाले निर्वाचनमा खटाइएको उनले स्पष्ट पारे।
डोटीमा ११८ मतदान स्थलअन्तर्गत १८१ मतदान केन्द्रमा १,०८६ कर्मचारी खटाइएका छन्। सुरक्षा व्यवस्थाका लागि १,००० भन्दा बढी नेपाल प्रहरी, १,०४० निर्वाचन प्रहरी, साथै सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले दिइन्। उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने भन्दै मिडियालाई सहयोग गर्न आग्रह गरिन्।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले निर्वाचन तयारी, आचारसंहिता र मिडियासँग अपेक्षित सहकार्यबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा प्रहरी उपरीक्षक महेन्द्र नेपाललगायतले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए।

