Sujang

डोटीको प्रतिष्ठामा आँच आउन दिने छैन : काँग्रेस उम्मेदवार खड्का

Ban

माघ १४, डोटी : नेपाली काँग्रेसका डोटीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भरत खड्काले आफ्नो कारण डोटेली जनता र डोटी जिल्लाको प्रतिष्ठामा कहिल्यै आँच नआउने स्पष्ट पारेका छन्।

बुधबार नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य समेत रहेका खड्काले डोटीको सम्मान, पहिचान र अधिकारको सवालमा आफू कहिल्यै सम्झौता नगर्ने बताए।
डोटीमा राजधानी फर्काउने विषयमा उठ्ने बहसबारे टिप्पणी गर्दै उनले भने,
“डोटीमा राजधानी ल्याउँछु भनेर आश्वासन दिनु यथार्थ होइन। म त्यो विषयमा इमानदार थिएँ। प्रयास गरेँ, अडान लिएँ तर सफल हुन सकिन। अन्ततः एक्लो बृहस्पति बन्नु पर्‍यो।”

पञ्चायतकालदेखि डोटीको राजनीति र विकासमा सक्रिय खड्काले आफू सधैं जिल्लाको समग्र विकासका लागि उभिएको दाबी गरे। उनले अनुभव, निरन्तरता र जिम्मेवार नेतृत्व नै डोटीको आवश्यकता भएको बताए।

Krishi

वैकल्पिक राजनीतिक दल र युवा नेतृत्वबारे प्रश्नमा उनले संविधानले दिएको अधिकारअनुसार नयाँ दल र नेतृत्व आउनु सकारात्मक भएको बताए।
तर, उनले जोड दिए,“युवा हुनु मात्र पर्याप्त हुँदैन। राजनीतिमा सोच, स्पष्ट भिजन र अनुभव पनि उत्तिकै आवश्यक छ।”

खड्काले राजनीतिक स्थायित्व, सुशासन र जनउत्तरदायी नेतृत्व अपरिहार्य रहेको धारणा राख्दै लोकतन्त्र भोकमरी, अराजकता र अस्थिरतासँग टिक्न नसक्ने बताएका छन्।

उम्मेदवार खड्काले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै, निर्वाचन जिते कांग्रेसको सरकार आए खुटिया–दिपायल फास्ट ट्रयाक दुई वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले पश्चिम सेती जलविद्युत् परियोजना, खप्तडको धार्मिक तथा पर्यटकीय विकास, सायलीगाड र टुणागाड पुल निर्माण, अन्य पुलको स्तरोन्नति, खानेपानी, सिँचाइ, शिक्षा, सडक पूर्वाधार र सिलगढीमा अलपत्र रहेको खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनमा ल्याउने योजना प्राथमिकतामा राख्ने बताए।

पत्रकार सम्मेलन नेपाल प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवरको अध्यक्षतामा दिपायलस्थित रिभर साइड होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली काँग्रेस डोटी सभापति नरेन्द्र बहादुर सिंहलगायत नेता, कार्यकर्ता र पत्रकारहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.