Sujang

डोटीमा चौथो कृषि जैविक विविधता दिवस सम्पन्न

Ban

सुबास नेपाली,माघ १ गते डोटी : कृषि जैविक विविधताको संरक्षण, उपयोग तथा प्रवर्द्धनमा युवाको सहभागिता बढाउने उद्देश्यका साथ डोटीमा चौथो कृषि जैविक विविधता दिवस सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र, डोटीको आयोजनामा दिपायलस्थित होटेल रिभर साइडको सभाहलमा आयोजित कार्यक्रममा कृषि क्षेत्रमा रहेका स्थानीय बाली, बीउबिजन, परम्परागत कृषि प्रणाली, र जैविक विविधताको संरक्षणको महत्वबारे छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख दुर्गा दत्त ओझाले जैविक विविधताको संरक्षण नगरे भविष्यमा खाद्य सुरक्षा संकटमा पर्न सक्ने र वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने चेतावनी दिनुभयो। उहाँले परम्परागत बीउबिजन र स्थानीय जातका बालीहरू लोप हुँदै गएको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले युवाहरूलाई आधुनिक प्रविधिसँगै परम्परागत कृषि प्रणालीलाई आत्मसात गर्दै व्यावसायिक र दिगो कृषि अभ्यासमा लाग्न आग्रह गर्नुभयो। “कृषि क्षेत्रको दिगो विकासका लागि जैविक विविधताको संरक्षण अपरिहार्य छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष गणेश भण्डारीले कृषकहरू उत्पादनदेखि बजारीकरणसम्म विभिन्न समस्यामा रहेको बताउँदै स्थानीय तहले कृषकका समस्या समाधान गर्न नीति तथा कार्यक्रममार्फत सहयोग बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँले कृषिलाई सम्मानजनक पेशाको रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

Krishi

नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले कृषकले उत्पादन गरेका कृषि उपज वस्तुले सहज रूपमा बजार नपाउने गुनासो बारम्बार आउने गरेको बताउनुभयो। उहाँले उत्पादनसँगै बजार व्यवस्थापन, भण्डारण तथा मूल्य सुनिश्चिततामा सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो। “बजार सुनिश्चित नभएसम्म कृषक निरुत्साहित हुने अवस्था रहन्छ,” उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर, स्थानीय जातका बाली संरक्षण, जैविक खेती प्रवर्द्धन, तथा युवालाई कृषिमा आकर्षित गर्ने उपायबारे आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमले कृषि जैविक विविधताको संरक्षणप्रति स्थानीय तह, कृषक र युवाहरूमा थप चेतना अभिवृद्धि गर्नुका साथै दिगो कृषि विकासका लागि सामूहिक प्रतिबद्धता जनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेका ३ जना किसान जमुना खड्का ,देबि कठायत खड्का र तेज द्वारियालाई प्रशंसा पत्र र नगद सहिद सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका कृषक, युवा, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा कृषि प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.